तेजन खड्का
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सहकारी विभाग सदस्य तथा महाधिवेशन प्रतिनिधि वीरेन्द्रकुमार साह ले पार्टीको आगामी महाधिवेशनले “एक व्यक्ति, एक पद” को सिद्धान्तलाई स्पष्ट रूपमा संस्थागत गर्नुपर्ने बताएका छन्।
उनले आफूलाई परम्परागत दलभन्दा फरक र वैकल्पिक राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्दै आएको रास्वपाले नेतृत्व चयन र जिम्मेवारी बाँडफाँटमा पनि फरक अभ्यास देखाउनुपर्ने बताए। एउटै व्यक्तिले अनेक जिम्मेवारी ओगट्ने प्रवृत्तिले संगठनभित्र अवसरको समान वितरणमा बाधा पुग्ने उनको तर्क छ।
साहले मन्त्री, सांसद वा अन्य प्रभावशाली पदमा रहेका व्यक्तिहरूलाई मात्र केन्द्रमा राख्ने प्रवृत्तिभन्दा संगठनमा लामो समयदेखि सक्रिय रहे पनि कुनै पदमा नपुगेका कार्यकर्तालाई नेतृत्व तहमा अवसर दिनुपर्ने धारणा राखे। “पार्टीभित्र अवसरको पहुँच सीमित घेरामा मात्र केन्द्रित हुनु हुँदैन,” उनले भने।

उनले रास्वपाको नेतृत्व संरचनामा ग्रामीण क्षेत्र, श्रमिक वर्ग, किसान तथा सीमान्तकृत समुदायको प्रतिनिधित्व अझ सशक्त बनाउन आवश्यक रहेको बताए। “जनताको दैनिक जीवनका समस्या प्रत्यक्ष रूपमा भोगेका र उनीहरूको आवाज बोकेका व्यक्तिहरू नेतृत्वमा पुग्नुपर्छ,” उनको भनाइ थियो।
महाधिवेशनले लोकप्रियता वा भाषणकलाभन्दा कार्यसम्पादन, संगठन निर्माण क्षमता र जनउत्तरदायित्वलाई आधार बनाएर नेतृत्व चयन गर्नुपर्ने साहको धारणा छ। उनले पार्टीले आगामी दिनमा तल्लो वर्ग र राज्यका अवसरबाट वञ्चित समुदायको हितलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम अघि बढाउनुपर्ने बताए।
रास्वपाको आगामी महाधिवेशन संगठनलाई थप लोकतान्त्रिक, समावेशी र जनमुखी बनाउने अवसर भएको उल्लेख गर्दै साहले त्यसबाट पार्टीको वैकल्पिक राजनीतिको दाबीलाई व्यवहारमा पुष्टि गर्ने नेतृत्व र नीतिको चयन हुने विश्वास व्यक्त गरे।



