तेजन खड्का
काठमाडौं– विश्वकै सबभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ फिफा विश्वकप–२०२६ बिहीवार मध्य रातिदेखि प्रारम्भ हुँदैछ । जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानाडा तथा मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप–२०२६ को प्रतिक्षाको घडी आउन अब धेरै समय बाँकी छैन ।
फिफाले यसपटकको विश्वकपमा ४८ देशका राष्ट्रिय टोलीलाई सहभागी गराएको छ, जुन विगतमा भन्दा १६ टीमले बढी हो । चार राष्ट्र केप भेर्डे, कुराकाओ, उज्बेकिस्तान तथा जोर्डन त नवप्रवेशी मात्र छन् । यसले प्रतियोगिताको समयमात्र होइन, यसपटक विश्वकप इतिहासमै सबैभन्दा बढी खेल पनि खेलिने भएको छ ।
यसपटकको विश्वकपमा कुल १०४ खेल खेलिनेछन् । उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्दैछ, जुन सन २०१० को विश्वकप उद्घाटन खेलको पुनरावृत्ति पनि हो ।
आफ्नो रोजाईको टीमले उपाधि चुमोस् भन्ने अभिलाषाका साथ नेपाली समर्थकहरु उत्साहित तथा खेलको प्रतिक्षाको घडी नजिकियोस भनेर आतुर छन् । जति–जति खेल प्रारम्भ हुने समय नजिकिँदै छ, उति–उति ढुकढुकी बढिरहेको छ, खेल समर्थकहरुको ।
हरेकको आफ्नो आफ्नो रोजाईको टिम छ । सबैलाई विश्वकप फुटबलको महाकुम्भले छोईरहँदा कलाकारहरुलाई नछुने कुरै भएन ।
हामीले कला क्षेत्रमा अनवरत रुपमा लागिरहेका कलाकर्मीहरुसँग विश्व फुटबलको महाकुम्भ ‘फिफा विश्वकप–२०२६’ को २३औँ संस्करणमा तपाईँको रोजाईको टिम कुन हो ? भनेर सोधेका छौँ । तेजन खड्कासँग गरिएको कुराकानीको सार जस्ताको त्यस्तैः
रेखा थापा, अभिनेत्री

मलाई पोर्चुुगल खेल एकदमै मनपर्छ । क्रिष्टियानो रोनाल्डोको फ्यान हुुँ । म सदावहार पोर्चुगलको समर्थक हुुँ । विश्वकपमा पोर्चुगलले उपाधि चुमोस भन्ने लाग्छ । ब्राजिलका नेइमारको खेल पनि एकदमै मन पर्छ ।
ज्योती मगर, गायिका

म त नेपाल विश्वकप फुटवलमा पुगोस् भन्ने चाहन्छुु नि । आफ्नै देशप्रति अनमोल प्रेम भए पनि आफ्नो देश विश्वकपमा नपुुगेको कारण कुनै देशको समर्थन गर्नै पर्छ । सुुरुवाती खेलहरु खासै हेर्दिन । सांगीतिक कार्यक्रमका दौडधुुपले थकान पनि हुुन्छ । म क्वाटरफाईनल र सेमिफाईनलदेखिका खेल सबै नछुटाई हेर्छुु । त्यसपछि कुन टिमको समर्थन गर्ने हो, निश्चित हुन्छ । जजमेन्ट हुन्छ, गरिन्छ । हामी विश्वकप फुटबलबाट जति मनोरञ्जन लिन्छौँ, आफ्नो समर्थक राष्ट्र हार्दा उत्तिनै दुःखी पनि हुन्छौँ । खेल हो, हार–जीत त अवश्य हुुन्छ नै । तर म के भन्न चाहन्छुु भने, खेल हेर्ने मात्र होईन, हाम्रा नयाँ पुस्ताका तथा राष्ट्रिय टीमका खेलाडीहरुले पनि विश्वकप फुटबलबाट नयाँ–नयाँ ट्याकल सिकुन् ।
भुवन केसी, अभिनेता

विश्वकप फुुटबल मलाई एकदमै मनपर्छ । हरेक संस्करण जहिल्यै पनि समय अनुुकुल नछुटाई हेर्ने गर्छु । म चाँहि अर्जेनटिनाको फ्यान हुुँ । म जहिले पनि अर्जेन्टिनालाई सर्पोट गर्छु । म्यारोडोनाको पालादेखि नै म अर्जेन्टिनाको फ्यान हुुँ । मेस्सी खेलमा रहुुन्जेलसम्म म अर्जेन्टिनालाई सर्पोट गर्छु । यो पटक खेल हेरेर कुन टिमले मन जित्छ, उत्कृष्ट प्रदर्शन गर्छ, त्यस अनुसार निर्धारण गर्दै म उसैको सपोर्ट गर्छु । आजसम्म चाहिँ अर्जेन्टिना नै हो ।
डम्बर नेपाली, गायक

लामो समयको प्रतिक्षापछि आजदेखि प्रारम्भ हुन गईरहेको विश्वकप फुुटबल निक्कै प्रफुल्लित छुु । खेलमा सबै टीमहरु छनौट भएर नै स्पर्धामा सहभागी जनाउनु भएको हो । सबै टीम राम्रो भएता पनि म चाहिँ अर्जेन्टिनाको समर्थक हुुँ । बालापनदेखि नै म अर्जेन्टिनाको सपोर्टर हुँ । अहिले पनि एकदमै राम्रो लाग्छ । भविष्यमा पनि अर्जेन्टिनाकै सपोर्टर हुन चाहन्छु । र जीत–हार आफ्नै ठाँउमा छ । खेल हेरेर ईन्जोय गर्नु होला भन्न चाहन्छु ।
सिर्जना सुब्बा, अभिनेत्री

मेस्सी अन्तराष्ट्रिय खेल जगतकै उत्कृष्ट खेलाडी हुन् । खेल राम्रो भएर पनि कहिलेकाहिँ ‘लक’ ले साथ नदिन पनि सक्छ । होला धेरै जना विभिन्न देशको फ्यान हुनुहुन्छ । तर मेस्सीको खेलमा खोट लगाउने ठाउँ छैन । होला, क्लबका गेममा थुप्रै खेल जिताए पनि मेस्सीले आफू सम्मिलित खेलबाट आफ्नो देशको लागि जीत दर्ता गराउन सकेका थिएनन् । खेल रोमाञ्चक अति रोमाञ्चक गत सीजनको खेलमा उनले उपाधि चुमाए । क्लबलाई मात्र जिताएको आफ्नो देशलाई जिताउन नसकेको ट्यागबाट उनले छुुटकारा पाए । मलाई मात्र हैन, सबैलाई लागेको थियो, सायद । मेस्सीले देशलाई जिताउन् भनेर, ईतिहास कायम गरुन् भनेर । उनी सफल भए । त्यो चाहना मेरोमात्र थिएन, जस्तो लाग्छ । देशलाई होइन, मेस्सीप्रतिको लभाव र सद्भाव थियो । खेल हो, हार–जीत हुन्छ अवश्य हुन्छ नै । आफ्नो आफ्नो समर्थन हुन्छ नै । म चाँहि यो पटक एम्बाप्पेहरुले पनि आफ्नो देशलाई जिताउन्, पेले म्यारोडोना, रोनाल्डो, मेस्सीहरु जस्तै उदियमान खेलाडी जन्मिउन्, नाम राखुुन् भन्न चाहन्छु । फुुटबलमा भविष्य छैन भन्ने आमा–बुवाहरुले आफ्ना नानीहरुले खेल्दै गर्दा रोक्ने होइन । उनीहरु जस्तै बनुन् भन्ने कामना गर्दै नवपथ निर्माणका खुड्लाहरु बनाईदिउन् भन्न चाहन्छु । मलाई खेलमा पुुस्तान्तारणहुँदै उदियमानहरुको जन्म होस् भन्ने लाग्छ । मेरो सानो बाबुले चाँहि रोनाल्डो भन्छ । फ्यान फलोईङले पनि होला ।
दीपकराज गिरी, कलाकार

म अर्जेन्टिनाको समर्थक हुँ । सन १९९० देखि विश्वकप हेर्न थालेको हुँ । आजन्म यो टिमको समर्थन गर्छु । विगतमा निद्रा मारेर विश्वकप हेरेको छु । यस पटक भने छायाङ्कनले गर्दा विश्वकपनजिक आएको पनि त्यति आभास भएको छैन । म खेलकुदमा एकदमै चासो राख्ने व्यक्ति हुँ, तर यस पटक सुटिङले गर्दा खासै ध्यान दिन पाएको छैन । यस पटकको विश्वकपमा फ्रान्स र अर्जेन्टिनाबीच फाइनलमा भिडन्त हुने मेरो अनुमान छ । कुनै बेला मनोरञ्जनका साधन एकदमै कम हुँदा फुटबलमा एकदमै चासो हुने गर्थ्यो । हाम्रो देशमा अहिले क्रिकेटको माहोल छ । त्यसैले फुटबलमा अहिले हाम्रो पालाको जस्तो चार्म देख्दिन । यस पटक पोर्चुगल, स्पेन, जर्मनीलाई पनि दावेदारीका रूपमा लिएको छु । पाँच पटकको विजेता ब्राजिल केही कमजोर भएको हो कि भन्ने मेरो बुझाइ छ ।
बिजय बराल, कलाकार

म ब्राजिलको समर्थक हुँ । मलाई त सानो बेला आफ्नो अनुहार पनि रोनाल्डोको हो कि जस्तो लाग्थ्यो । सबैले जिस्काउने पनि गर्थे । सन् २००२ मा ब्राजिलले विश्वकप ट्रफी उचालेको देख्दा मेरो मन धेरै प्रफुल्लित भयो किनभने मैले विश्वकप हेर्न थालेको समय त्यही नै थियो । त्यसपछि प्रिय लागेको ब्राजिल हो, मलाई सधैँ बाज्रिल मन पर्छ । म प्रायः सबै टिमको खेल उत्तिकै चाख दिएर हेर्ने हेर्छु । तर आफूलाई मन परेको टिम बाहिरिएपछि भने खेल हेर्ने मुड हुँदैन । विश्वकप त प्रतियोगिता मात्रै नभएर उत्सव जस्तै भइसक्यो । साथीहरूकहाँ बसेर कसको समर्थन गर्ने भनेर योजना बनाउन थालिसकेँ । ब्राजिल फाइनलमा पुगोस् भन्ने चाहना त अवश्य नै छ तर सोचे जस्तो सबै कहाँ हुन्छ कि हुन्न, खेल बाँकी नै छ ।
वर्षा राउत, अभिनेत्री

म खासै फुटबलमा चासो राख्दिन । तर पनि म ब्राजिलको समर्थक चाँहि हुुँ । सन २००२ मा ब्राजिलले विश्वकपको ट्रफी उचालेसँगै ब्राजिलको फ्यान बनेकी हुँ । समर्थकको हिसाबले ब्राजिलले फाइनल कप उचालोस नै भन्ने हो तर खेल हो केही भन्न सकिन्न । यस पटक जर्मनी र ब्राजिल फाइनलमा पुग्ने मेरो अनुमान छ ।
बिनिता कार्की, अभिनेत्री

मेरो प्रिय टिम अर्जेन्टिना हो । अर्जेन्टिनासँगै मलाई फ्रान्स पनि मन पर्छ । खेल त अरूको पनि राम्रो हुन्छ तर अर्जेन्टिनाको चाहिँ विशेष लाग्छ । मलाई आफूले समर्थन गरेको टिमले विश्वकप जित्नै पर्छ भन्ने लाग्दैन तर तर आफूले समर्थन गरेको टिम सक्दो माथि पुगेको हेर्ने चाहना त अवश्य हुुन्छ नै । मेरो प्राथाना छ, अर्जेन्टिनाले राम्रो खेल्न सकोस, फाइनल जितोस् ।
नीति शाह, अभिनेत्री

यस पटक म पोर्चुगल र ब्राजिल फाइनलसम्म पुगेको हेर्न चाहन्छु ।



