बुटवल : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन शाहको विवादास्पद अभिव्यक्तिमा संसदमा ताली बजाउने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई प्रश्न गर्न मतदाताहरूलाई आह्वान गरेका छन् । रूपन्देहीको मणिग्राममा आयोजित लुम्बिनी प्रदेशस्तरीय प्रदेश तथा स्थानीय तहका पार्टी पदाधिकारी तथा जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितविपरीत, अपरिपक्व र अराजनीतिक भएको टिप्पणी गरे ।

‘हाम्रो देशले पनि अरूको सिमाना मिचेको छ भन्ने जस्तो राष्ट्रघाती अभिव्यक्तिमा समर्थन जनाउन सांसदहरूलाई जनताले संसदमा पठाएका होइनन्,’ उनले भने, ‘त्यसका विरुद्ध बोल्न र जवाफदेही बनाउन मतदाताहरूले दबाब दिनुपर्छ ।’

प्रधानमन्त्रीले नबुझी बोलेको भए चिन्ताजनक र बुझेरै बोलेको भए झन् खतरनाक हुने टिप्पणी गर्दै थापाले उक्त अभिव्यक्तिले नेपाली जनताको शिर निहुरिएको बताए । उनले प्रधानमन्त्रीलाई तत्काल संसदमा गएर आफ्नो अभिव्यक्ति फिर्ता लिन र जनतासँग माफी माग्न सुझाव दिए ।

‘सरकारले राम्रो काम गर्दा सघाउने र गलत काम गर्दा खबरदारी गर्ने वा सच्याउन बाध्य पार्ने प्रतिपक्षको धर्म हो, र त्यो जिम्मेवारी कांग्रेसले निर्वाह गर्छ,’ थापाले भने । प्रधानमन्त्री शाहलाई यस विषयमा माफी नमागी जनताले नछाड्ने उनको दाबी थियो ।

थापाले संसदबाट जबर्जस्ती प्रतिनिधिसभा नियमावली २०८३ पारित गरिएको भन्दै त्यसप्रति पनि कडा आपत्ति जनाए । सभामुख र सत्तारुढ दलले यस विषयमा पुनर्विचार नगरे अदालत जाने संकेत गर्दै उनले उक्त घटनालाई संसदीय इतिहासकै कालो दिनको संज्ञा दिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको