काठमाडौँ :  जिल्ला सरकारी वकिल कार्यालयले सर्वोच्च अदालत, सिंहदरबार र विभिन्न प्रहरी कार्यालयहरूमा आगजनी तथा तोडफोड गरेको अभियोगमा १३ जना विरुद्ध मंगलबार मुद्दा दर्ता गरेको छ। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक प्रदर्शनमा संलग्न ती व्यक्तिहरूमाथि आपराधिक उपद्रव र डाँका सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो।

अदालतका सूचना अधिकारी दीपक अधिकारीका अनुसार, सर्वोच्च अदालतमा आगजनी गरेको अभियोगमा सुनिल श्रेष्ठ, ज्योति थापा, विनोदकुमार थापा मगर, कुमार पराजुली र राजु परियारविरुद्ध मुद्दा चलाइएको छ। अभियोग पत्रमा प्रतिवादीहरूले सर्वोच्च अदालतमा आगो लगाएर १ अर्ब २३ करोड ६२ लाख ३८ हजार रुपैयाँ बराबरको ठूलो भौतिक क्षति पुर्‍याएको उल्लेख गरिएको छ।

यसैगरी, सिंहदरबार परिसरमा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा आशिष गुरुङ विरुद्ध पनि मुद्दा दर्ता भएको छ। त्यस्तै, प्रहरी कार्यालयहरूलाई लक्षित गरी भएका आक्रमणका घटनामा पनि छुट्टाछुट्टै अभियोग लगाइएको छ। प्रहरी वृत्त बौद्धमा आगजनी गरेको आरोपमा समीर श्रेष्ठ र सुनिल तामाङ तथा प्रहरी प्रभाग बलम्बुमा तोडफोड गरेको अभियोगमा निखिल कुसुले, सोहन चौधरी, विवेक रोक्का र छत्रबहादुर विक विरुद्ध कानुनी कारबाही अघि बढाइएको छ।

भदौ २४ गतेको उक्त घटनापछि सर्वोच्च अदालत प्रशासनले घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न काठमाडौँ प्रहरी परिसरमा जाहेरी दिएको थियो। सोही जाहेरीका आधारमा प्रहरीले गरेको विस्तृत अनुसन्धान र संकलन गरेको प्रमाणका आधारमा सरकारी वकिल कार्यालयले १३ जनालाई विपक्षी बनाउँदै अदालतमा मुद्दा पुर्‍याएको हो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर