काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले हालै एक अनलाइन पोर्टलमा आफ्नो नाम जोडेर आएका समाचारप्रति कडा आपत्ति जनाएका छन्। रातो पाटी अनलाइनमा प्रकाशित समाचारमा लगाइएका आरोपहरूलाई उनले पूर्णतः तथ्यहीन, भ्रामक र कपोलकल्पित भनेका छन्। विज्ञप्ति जारी गर्दै उनले पार्टी महामन्त्री गगनकुमार थापालाई निर्वाचनमा हराउन षड्यन्त्र गरेको भन्ने आरोपको खण्डन गर्दै यस्ता कुरा आफ्नो नैतिकता र पेशागत धर्म विपरीत रहेको स्पष्ट पारेका छन्। उनले समाचारमा उल्लेख गरिएका तथाकथित व्यक्तिहरूलाई आफूले नचिनेको र नेताहरू उपेन्द्र यादव तथा अमरेश कुमार सिंहसँग कुनै पनि प्रकारको संवाद वा भेटघाट नभएको दृढतापूर्वक उल्लेख गरेका छन्।

आफ्नो व्यक्तिगत प्रतिष्ठा र पार्टीको छविमा आँच पुऱ्याउने नियतले यस्ता निराधार समाचार सम्प्रेषण गरिएको भन्दै थपलियाले यस विषयमा सरोकारवाला निकायहरूसँग परामर्श भइरहेको जानकारी दिएका छन्। उनले समाचारमा दाबी गरिएको अडियोको सत्यता पुष्टि गर्न स्वतन्त्र फोरेन्सिक परीक्षण गराउन आफू तयार रहेको र आफ्नो चरित्र हत्या गर्ने प्रयास विरुद्ध कानुनी उपचार खोज्न बाध्य हुने चेतावनी समेत दिएका छन्।

राष्ट्र र लोकतन्त्र संवेदनशील मोडमा रहेको बेला यस्ता अफवाहले जनविश्वास कमजोर बनाउने उल्लेख गर्दै थपलियाले सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई सत्य र तथ्यमा आधारित सूचनामा मात्र विश्वास गर्न र अफवाहबाट प्रभावित नहुन हार्दिक अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको