काठमाडौं । भदौ २३-२४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण रोक र स्थान हद फुकुवा गरेको छ । ओलीको बयान लिएसँगै आयोगले उनीमाथि लगाइएको बन्देज फुकुवाको निर्णय गरेको हो । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आजको निर्णय सार्वजनिक गर्दै फुकुवाको जानकारी गराएका छन् ।
प्रवक्ता विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा त्यसताका भएका घटनाको जाँचबुझ तथा छानबिनको सिलसिलामा तत्कालीन प्रधानमन्त्री ओलीलाई विदेश भ्रमणमा रोक र अनुमतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने गरी असोज १२ मा निर्णय गरिएकोमा सोधपुछलगायत बुझ्ने कार्य सकिएकाले उक्त निर्णयको औचित्य समाप्त भइसकेको भन्दै फुकुवा गरिएको उल्लेख छ ।
ओलीको स्थानहद फुकुवासँगै आयोगले लगाएको सबैको स्थान हद फुकुवा भएको छ । आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, तत्कालीन नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ, राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख अनुसन्धान निर्देशक हुतराज थापालाई असोज १२ गते निर्णय गर्दै स्थान हद लगाएको थियो ।




