काठमाडौं : नेपाली कांग्रेसकाे महासमिति बैठकमा आगामी निर्वाचनमा गठबन्धन नगर्ने विषयमाथि छलफल हुने भएकाे छ । महामन्त्री गगन थापाले कांग्रेसले एक्लै चुनाव लड्ने गरि ल्याएकाे प्रस्तावमा सभापति शेरबहादुर देउवा असहमत देखिनुभएकाे थियाे ।
महामन्त्री गगन थापाले प्रस्ताव गरे अनुसार नै प्रि पोल एलायन्स नगर्ने समेत बिषय समेटिएको सांगठनिक प्रस्तावमा देउवाले सहमति जनाएपछि अब मंगलवार अन्य प्रस्तावसँगै सांगठनिक प्रस्ताव समेत सबै महासमिति सदस्यको हातमा पर्ने पक्का भएको छ। विधान अनुसार २०८२ मंसिर मसान्तभित्र १५ औं महाधिवेशन र २०८४मा ३ वटै तहको चुनावमा प्रि पोल एलायन्स नगर्ने विषय थापाकाे प्रस्तावमा समेटिएको छ ।
विहान साे विषयमा सहमति खाेज्न देउवा निवासमा बसेकाे बैठकमा सहमति भएकाे थिएन । जसकारण महासमिति बैठककाे उद्घाटनसत्र करिब २ घण्टा पर धकेलिएको थियाे । बेलुकी बसेकाे बैठकमा सभापति देउवा थापाकाे प्रस्ताव मान्न तयार भएपछि महामन्त्रीकाे प्रस्ताव छपाईका लागि प्रेसमा पठाइएकाे छ ।
भाेली विहानबाट महासमिति बैठककाे बन्दसत्र शुरू हुँदैछ । ललितपुरकाे गाेदावरीमा फागुन १० सम्म महासमिति बैठक चल्नेछ ।
(फाइल फाेटाे)



