जाफ्ना, श्रीलंका : नेपालकी जेनजी अभियन्ता तथा मिसन स्माइल नेपालकी संस्थापक एवं अध्यक्ष जास्मिन ओझा श्रीलंकाको जाफ्ना पुगेर साउदी अरबमा मृत्युदण्डको सजाय सुनाइएका भनिएका २४ वर्षीय श्रीलंकाली तमिल आप्रवासी श्रमिक सिवारासा अन्जोनको परिवारसँग भेट गरेकी छन्।

मानवअधिकार तथा मानवीय सरोकारका विषयमा सक्रिय ओझाले अन्जोनको परिवारसँग भेट गरी उनीहरूको अवस्था र कानुनी प्रक्रियाबारे जानकारी लिँदै परिवारप्रति ऐक्यबद्धता जनाएकी हुन्। करिब नौ घण्टाको सडक यात्रापछि जाफ्ना पुगेकी ओझाले परिवारको घरमा उनकी आमा, बुबा र भाइसँग भेट गरेकी थिइन्।

ओझाका अनुसार परिवार अत्यन्त भावुक अवस्थामा थियो। भेटका क्रममा परिवारले अन्जोनसँग सम्बन्धित कानुनी कागजातहरू देखाएको थियो, जसलाई तमिल भाषाका अनुवादकमार्फत ओझा र उनको टोलीले बुझेका थिए। परिवारले आफ्नो पीडा र छोराको भविष्यप्रतिको चिन्ता व्यक्त गरेको थियो।

रिपोर्टअनुसार अन्जोन सेप्टेम्बर २०२५ मा रोजगारीका लागि साउदी अरब पुगेका थिए र २ जुलाई २०२६ मा पक्राउ परेका थिए। सामाजिक सञ्जालमा इस्लाम धर्मको अपमान गरेको ठहर गरिएको टिप्पणीसँग सम्बन्धित मुद्दामा उनलाई सुरुमा पाँच वर्षको जेल सजाय र ३० लाख साउदी रियाल जरिवाना सुनाइएको रिपोर्टहरू आएका थिए। पछि साउदी अभियोजन पक्षको पुनरावेदनपछि अपिल अदालतबाट मृत्युदण्डको फैसला भएको श्रीलंकाली अधिकारीहरूले बताएका छन्।

यसअघि श्रीलंकाको विदेश मन्त्रालयले भने औपचारिक लिखित फैसलाको पुष्टि पर्खिरहेको जनाएको थियो। श्रीलंकाले अन्जोनका लागि कानुनी, कन्सुलर तथा कूटनीतिक माध्यमबाट पहल गरिरहेको छ। साथै, साउदी अरबका राजा समक्ष क्षमादानका लागि राष्ट्रपतीय अपिलसमेत अघि बढाइएको बताइएको छ।

परिवारसँगको भेटपछि ओझाले अन्जोनको दोष वा निर्दोषताबारे आफूले निष्कर्ष दिन नचाहेको बताउँदै साउदी अरबको सार्वभौमिकता, कानुन र धार्मिक मूल्यप्रति सम्मान रहेको स्पष्ट गरेकी छन्। तर, उनले कानुनको सम्मान गर्दै मानवीय आधारमा क्षमादानको अपिल गर्न सकिने बताएकी छन्।

ओझाले साउदी सरकारसँग अन्जोनको मृत्युदण्डबारे पुनर्विचार गर्दै क्षमादान वा सजाय घटाउने सम्भावना विचार गर्न आग्रह गरेकी छन्। उनले परिवारले भोगिरहेको पीडा र उनीहरूको आवाज अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउन आवश्यक रहेको बताएकी छन्।

“कुनै मानव जीवनमा करुणा, क्षमा र दयाका लागि अझै ठाउँ बाँकी छ भने त्यो जीवन गुम्नु हुँदैन,” ओझाको अपिल छ।

जाफ्नाबाट फर्किएपछि पनि अन्जोनको परिवारसँग निरन्तर सम्पर्कमा रहेको बताउँदै ओझाले परिवारको आवाजलाई आफूले सम्भव भएसम्म अगाडि पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

“म जाफ्नाको त्यो सानो घरबाट बाहिरिएँ, तर त्यहाँको मौनता भने मसँगै आयो।” ओझाले भनेकी छन्, “अब त्यो मौनताले करुणाको आवाज पाओस् भन्ने मेरो आग्रह हो।”

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको