काठमाडौँ । विद्यार्थी राजनीतिबाट सार्वजनिक जीवनको सुरुवात गर्नुभएका युवा नेता कुमार दुलाल नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोकबाट खुलातर्फको महाधिवेशन प्रतिनिधि पदमा मैदानमा उत्रिएका छन् । राजनीति, सामाजिक अभियान र जनसेवामा दशकौँदेखि निरन्तर सक्रिय दुलालले पार्टीभित्र पुस्तान्तरण, वैचारिक सुधार र संगठनात्मक सुदृढीकरणलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् । विद्यार्थी राजनीतिबाट सार्वजनिक जीवन सुरु गरेका युवा नेता कुमार दुलालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सिन्धुपाल्चोकबाट खुलातर्फ महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल विद्यार्थी संघ बाट राजनीतिक यात्रा थालेका दुलालले २०६२/०६३ को जनआन्दोलनमा अग्रमोर्चामा रहेर सहभागिता जनाएका थिए। त्यसयता स्वतन्त्र विद्यार्थी युनियन, थापाथली इन्जिनियरिङ क्याम्पसको नेविसंघ सभापति तथा प्राविधिक विद्यार्थी परिषद्–नेपालको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका दुलाल नेविसंघको केन्द्रीय सदस्यको प्रत्याशीसमेत रहिसकेका छन्।
राजनीतिक यात्राको सुरुवाती चरणदेखि नै कांग्रेस महामन्त्री गगनकुमार थापासँग निकट रहेर काम गरेका दुलालले पार्टीभित्र पुस्तान्तरण, वैचारिक सुधार र संगठनात्मक सुदृढीकरणका पक्षमा निरन्तर बहस चलाउँदै आएका छन्। गगन थापालाई नेतृत्वमा स्थापित गर्न र नेपाली कांग्रेसलाई नयाँ पुस्ताको सोचअनुकूल ढाल्न उनको भूमिका महत्त्वपूर्ण मानिन्छ।
राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय दुलालले स्वास्थ्य क्षेत्रको व्यवस्थापनमा समेत योगदान पुर्याएका छन्। उनले नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा गठित मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको अध्यक्षका रूपमा स्थानीय स्तरमा स्वास्थ्य सेवा सुधारको काम गरेका थिए।

यसका साथै, विश्व युवा सम्मेलन तथा अन्तर्राष्ट्रिय समाजवादी युवा संगठन जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाली युवाको प्रतिनिधित्व गरिसकेका दुलालले आफूलाई राजनीतिज्ञका साथै सामाजिक अभियन्ताका रूपमा स्थापित गरेका छन्।
शिक्षा, स्वास्थ्य, युवा सहभागिता र स्थानीय सरोकारका विषयलाई प्राथमिकता दिँदै उनले आसन्न महाधिवेशनमा सिन्धुपाल्चोकका सम्पूर्ण कांग्रेस नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूसँग सहयोग र समर्थनको अपिल गरेका छन्। पार्टीलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउन आफू निरन्तर क्रियाशील रहने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन्।




