न्युयोर्क, असार २ गते । लियोनेल मेसी र अर्जेन्टिना छ दशकपछि विश्वकप उपाधि रक्षा गर्ने पहिलो टिम बन्ने अभियानमा रहेको छ । सन् १९५८ र १९६२ मा ब्राजिलले लगातार दुई पटक विश्वकप उपाधि जितेपछि कुनै पनि राष्ट्रले विश्वकप उपाधि रक्षा गर्न सकेको छैन । यस अभियानलाई सफल बनाउने उसले समूह ‘जे’ मा मङ्गलबार पहिलो खेल अल्जेरियाविरुद्ध खेल्ने छ । अल्जेरिया लामो समयपछि विश्वकपमा पुनरागमन जनाएको टिम हो ।
अर्जेन्टिना सानदार लयमा पनि छ । दक्षिण अमेरिकी समूहमा शीर्ष स्थान हासिल गरी अर्जेन्टिनाले १५ महिनाअघि नै विश्वकपमा स्थान बनाएको थियो । अफ्रिकाको प्रतिनिधित्व गर्ने अल्जेरियाले सन् २०१४ पछि विश्वकपमा पुनरागमन गर्दै छ । लामो समय विश्वकपमा अनुपस्थित भए पनि अल्जेरिया दुई पटकको अफ्रिकी च्याम्पियन हो । उसले सन् १९९० र २०१९ मा अफ्रिकी नेसन्स कप जितेको थियो । पछिल्लो पटक विश्वकप खेल्दा अल्जेरियाले अन्तिम १६ सम्मको यात्रा गरेको थियो । विश्वकप छनोटमा अल्जेरियाको प्रदर्शन राम्रो रह्यो । उसले १० खेलमध्ये आठ जित, एक बराबरी र एक हारमा खेलेको थियो । त्यसैले अर्जेन्टिनाले अल्जेरियालाई हलुका रूपमा नलिने पक्का छ । अझ पछिल्लो संस्करणमा पहिलो खेलमै साउदी अरबसँग स्तब्धकारी हार बेहोरेकाले पनि अर्जेन्टिनाले अल्जेरियाविरुद्ध खेल्दा सतर्कता अपनाउने छ ।
अल्जेरियाविरुद्ध खेलेर ३८ वर्षीय मेसीले छैटौँ पटक विश्वकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान बनाउनुहुने छ तर प्रशिक्षक लियोनेल स्कालोनीसमक्ष चोटको केही चुनौती छ । लेफ्ट ब्याक निकोलस ताग्लियाफीको, सेन्टर ब्याक फाकुन्डो मेडिना र गोलरक्षक इमिलियानो मार्टिनेज पूर्ण रूपमा दुरुस्त हुनुहुन्न । अल्जेरिया सानदार लयमा रहेको छ । विश्वकप आउनुअघि अल्जेरिया चार खेलमा अपराजित छ । यस क्रममा उसले नेदरल्यान्ड्सलाई १–० र बोलिभियालाई ४–० ले हराएको थियो भने दुई पटकको विश्वकप विजेता उरुग्वेसँग बराबरीमा खेलेको थियो तर मेसीले अर्जेन्टिनालाई हराउन अल्जेरिया मात्र होइन सबै टिमलाई धेरै कठिन हुने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, अर्जेन्टिना एकजुट भएर खेल्ने बलियो टिम हो ।
फ्रान्स–सेनेगल
यसपालि च्याम्पियन बनेर फ्रान्स तीन तथा सोभन्दा बढी विश्वकप उपाधि जित्ने पाँचौँ राष्ट्र बन्न चाहन्छ । अहिलेसम्म ब्राजिलले पाँच, जर्मनी र इटालीले चार–चार तथा अर्जेन्टिनाले तीन पटक विश्वकपको उपाधि जितेका छन् । विश्वकपअघि भएका तयारी खेलमा फ्रान्सले ब्राजिललाई २–१ र कोलम्बियालाई ३–१ ले हराएर आफ्नो टिम लयमा रहेको पनि देखाइसकेको छ । यसपालि सेनेगलविरुद्ध खेलेर फ्रान्सले सुरुवात गर्दै छ । सेनेगलविरुद्ध खेल्दा फ्रान्सलाई सन् २००२ को विश्वकपको पहिलो खेलमा बेहोरको हारले तर्साउन सक्छ । सो समय पहिलो पटक विश्वकपमा आएको सेनेगलले उपाधि रक्षा अभियानमा रहेको फ्रान्सलाई १–० ले हराएर स्तब्धकारी नतिजा निकालेको थियो । त्यसपछि सेनेगलले विश्व फुटबलमा धेरै प्रगति गरिसकेको छ । सेनेगल लगातार तेस्रो पटक विश्वकपमा खेल्दै छ । यस विश्वकपअघि सेनेगल अफ्रिकी कप अफ नेसन्स–२०२५ को उपाधि जितेको थियो ।
यस पटकको विश्वकपमा सेनेगलका स्ट्राइकर साडियो माने हेर्नलायक खेलाडीका रूपमा रहनुहुने छ । सेनेगलका लागि ५३ गोल गरिसकेका मानेले छनोट चरणमा पाँच गोल गर्नुभएको थियो ।
फ्रान्सेली टिममा यसपालि पनि विश्वस्तरीय फुटबलरको बाहुल्य छ । किलियन एम्बापे, ह्युगो इकिटिके, ओसमान डेम्बेले, माइकल ओलिस जस्ता खेलाडीको उपस्थितिमा फ्रान्सलाई उपाधिकै प्रबल दाबेदार मानिएको छ । पछिल्लो विश्वकपमा एम्बापेले आठ गोल गरेर सर्वाधिक गोलकर्तालाई प्रदान गरिने गोल्डेन बुट जित्नुभएको थियो । अर्जेन्टिनाविरुद्धको फाइनलमा एम्बापेले ह्याट्रिक पनि गर्नुभयो । पछिल्लो विश्वकपमा फ्रान्स फाइनलमा अर्जेन्टिनासँग टाइब्रेकरमा हारेपछि निराश बनेको थियो । अहिले फ्रान्सको प्रमुख चिन्ता भनेको कप्तान एम्बापेलाई लिएर भइरहेको आलोचना नै हो । उहाँको हाल केही खस्केको प्रदर्शन, नेतृत्व र मैदानबाहिरको व्यवहारलाई लिएर अहिले ठुलो चर्चा हुने गर्दछ ।
अस्ट्रिया–जोर्डन
२८ वर्षपछि खेल्न लागेको विश्वकपमा अस्ट्रियाले समूह चरण पार गर्ने लक्ष्य लिएको छ । यस समूहमा अर्जेन्टिना र अल्जेरिया पनि रहेकाले यस अभियानलाई सफल बनाउन उसले पहिलो खेलमा नवप्रवेशी जोर्डनलाई हराउनैपर्ने बाध्यता छ । युरो २०२४ मा नकआउट चरणसम्मको यात्राले पनि अस्ट्रियाको मनोबल उच्च छ । विगतमा अस्ट्रिया फुटबलको शक्ति राष्ट्र नै थियो । अस्ट्रियाले सन् १९५४ को विश्वकपमा सेमिफाइनल र सन् १९७८ को विश्वकपमा अन्तिम आठसम्मको यात्रा तय गरेको थियो ।
यसै गरी सन् २०२३ मा एसियाकप र सन् २०२५ मा अरबकपको फाइनल्स खेलेको टिम जोर्डन विश्वकपमा पनि आफ्नो छाप छोड्ने दाउमा छ तर वार्मअप खेलमा स्विट्जरल्यान्डसँग ४–१ र कोलम्बियासँग २–० ले हारेकाले जोर्डनले अस्ट्रियाविरुद्धको खेल जित्न शतप्रतिशत प्रदर्शन गर्नुपर्ने हुन्छ ।
नर्वे–इराक
नर्वेले झन्डै तीन दशकपछि विश्वकप फुटबल प्रतियोगितामा पुनरागमन गर्दै छ । समूह ‘आई’ मा रहेको नर्वेले आफ्नो पहिलो खेलमा इराकको सामना गर्ने छ । गोल मेसिन इर्लिङ हालान्ड रहेकाले पनि नर्वेलाई हेर्नलायक टिमका रूपमा हेरिएको छ । सेन्टर फरवार्ड हालान्डले विश्वकप छनोटमा १६ र प्रिमियर लिगमा म्यान्चेस्टर सिटीका लागि २७ गोल गर्नुभएको छ । सो टिममा आर्सनलका प्लेमेकर मार्टिन ओडिगार्ड र विन्गर एन्टोनियो नुसा र ओस्कार बब पनि हुनुहुन्छ । इराक पनि ४० वर्षपछि विश्वकपमा फर्केको हो । एजेन्सी



