सिन्धुपाल्चोक, जेठ २० / मेलम्ची नगरपालिकाको आयोजनामा सम्पन्न दुईदिने खुला मेयर कप कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन बनेको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै चौताराले सर्वाधिक स्वर्ण पदक जितेर उपाधि आफ्नो नाममा सुरक्षित गरेको हो। प्रतियोगितामा टोखा नगरपालिका वादोकाइ कराते दोस्रो स्थानमा रहँदै उपविजेता बनेको छ भने काभ्रे तेस्रो स्थान हासिल गर्न सफल भएको छ।
टिम फाइटतर्फ पुरुष समूहमा टोखा नगरपालिका वादोकाइ कराते प्रथम बनेको छ। यस्तै महिलातर्फको टिम फाइटमा काभ्रे प्रथम, चौतारा द्वितीय तथा हेलम्बु र मेलम्ची संयुक्त रूपमा तृतीय स्थानमा रहेका छन्।
टिम च्याम्पियन बनेको चौताराले नगद रु। ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता टोखा नगरपालिका वादोकाइ करातेले रु। ३० हजार नगद पुरस्कार प्राप्त गर्दा तृतीय स्थान हासिल गरेको काभ्रेले रु। २० हजार नगद पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ।
मेलम्चीमा आयोजित उक्त प्रतियोगितामा काभ्रे, मकवानपुर, काठमाडौं (टोखा), बाह्रबिसे, मेलम्ची, चौतारा तथा हेलम्बुका २ सय २९ खेलाडीले सहभागिता जनाएका थिए । कार्यक्रममा पुरस्कार वितरण गर्दै मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले प्रतियोगिताले स्थानीय स्तरमा कराते खेलको विकास, खेलाडीहरूको प्रतिभा पहिचान तथा खेलप्रतिको आकर्षण अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने र खेल जीवन स्वास्थ्यको लागी आवश्यक भएको बताए । मेयर तामाङले भने,स्वस्थ र तन्दुरुस्त नागरिकबाट मात्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडी उत्पादन हुन सक्ने बताएका छन्।
उनले खेलकुदले व्यक्तिको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै मेलम्ची नगरपालिकाले आयोजना गरेको खुल्ला नगर प्रमुख स्तरीय कराते प्रतियोगिता खेलकुद विकासका लागि महत्वपूर्ण कदम भएको बताए। प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट खेलाडी तथा टोलीहरूको उल्लेखनीय सहभागिता रहेको भन्दै उनले सम्पूर्ण सहभागी खेलाडी, प्रशिक्षक तथा टोली व्यवस्थापकहरूलाई शुभकामना व्यक्त गरे।



