कुन्दनराज काफ्ले/ 
– ‘राजनीति सरल रेखामा हिँड्दैन भन्ने’ वाक्य मैले पहिलो–पटक कसैबाट सुनेको हुँ भने, त्यो अग्रजको नाम हो–गगनकुमार थापा। विद्यार्थी राजनीतिका दुःखसुख, नोकझोक र त्यतिबेला नै दलभित्रको अन्तसंघर्षका अनेक साक्षी बसिरहँदा, छेउकुनाबाट हेलिएर कुनै न कुनै आन्दोलनको अग्रभागमा भइरहँदा एक दिन मलाई श्रद्धेय गिरिजाबाबुले भनेको याद छ– ‘तिमीहरु जस्तो नौजवानहरु लामो राजनीति गर्नुपर्छ। भ्यालुजका आधारमा आफू हिँडिरहनुपर्छ। लागिरहनुपर्छ।’

मैले यी दुई प्रसङ्गहरु किन पनि यहाँ उल्लेख गरेँ भने– मभित्र तमाम कमजोरीहरु होलान् तर मैले कहिल्यै प्रतिवद्ध दल कांग्रेसलाई कुभलो गरिनँ। दलको हानिनोक्सानी होस् भन्ने सपनामा पनि सोचिनँ। दलको शीर उँचो हुन्छ भने ज्यान नै हत्केलामा राखेका दर्जनौं उदाहरणहरु छन्। सडकमा नारा लगाउँदा होस् या आन्दोलनमा रगत बगाउँदा, दलभित्र रहेका विचारधारा समूहको टकरावका बेला होस् या कुनै सभा–सम्मेलनमा आफूलाई उभ्याउनुपर्दा– सबै ठाउँमा म ‘स्पष्ट’, ‘खरो’ र ‘देखिने/सुनिने’ खालको हुने प्रयत्न गरेँ। कहिलेकाँही यही कुरा कतिपय अग्रजका लागि ‘उग्र’ भन्ने लाग्यो त कतिपयका लागि यो स्वभाव ‘जोदाहा र जुझारु’ भन्ने लाग्यो। यो स्वभावमा मैले ‘कम्प्रोमाइज’ गर्न सक्दिनँ किनभनेँ मैले यसरी नै राजनीति सिकेँ, राजनीति पढेँ र राजनीति गर्दै आएँ। यो मेरो आदत होइन सम्पत्ती बनिसक्यो।

तर म आफूलाई भन्दा पनि बढि माया गरेको, समर्पित भएको र खुन–पसिना बगाएको पार्टी नेपाली कांग्रेसको वर्तमान अवस्था कस्तो छ भन्ने सबैमा जगजाहेर छ। हो– म विचारधार समूहका हिसावले श्रद्धेय नेता कृष्ण सिटौलाको छहारीमा छु। नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणको त्यति जटिल र संवेदनशील अनुष्ठानका अगुवा सिटौला दाइप्रति मेरो सम्मान कहिल्यै घट्दैन। र, म जहाँ छु त्यो भूमिमा उभ्भिएर भन्न सक्छु– सिटौला दाइ मात्र होइन, सबै अग्रज श्रद्धेय नेताहरुलाई मैले अपमान गर्ने अधिकार राख्दिनँ। समयक्रममा मबाट त्यस्तो केही गल्ती भएको भए एउटा उदारमना डेमोक्रेटको नाताले क्षमाको भागी बन्न पनि कुनै आपत्ती रहेन। कुरो यत्ति– एउटा सिंगो कांग्रेस, एउटा सवल कांग्रेस र एउटा नुतन कांग्रेस हामी सबैको सपना मात्र होइन अब अपरिहार्यता हो। यसका लागि मलाई पार्टीले– एउटा सिपाहीका रुपमा मैदानमा खटाउँछ भने पनि म तयार छु। र, अहिले त्याग गर भनेर मेरो धैर्यताको परीक्षा लिन्छ भने पनि म तयार छु। यसमा मेरो सर्त एउटा मात्र छ– चारतारे झण्डा र रुखसहित कांग्रेस चाहिँ थप बलियो हुनुपर्यो। थप जनमुखी र थप उर्जाशील हुनुपर्यो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर