काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एकता सम्झौतामा इमानदार नभएपछि उज्यालो नेपाल पार्टी पुन: सक्रिय हुने भएकाे छ । एकता सहमतिकाे दुई साता नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले सहमतिमा धाेका दिएकाे उज्यालाे पार्टीको निष्कर्ष छ । उज्यालाे पार्टीनै अघि बढ्ने अवस्था बन्दा राजनीतिमा सक्रिय हुन मन्त्री पदबाट बाहिरिएका कुलमान घिसिङ पनि रास्वपमा नजाने भएका छन् ।
शुक्रबार कुलमान र रविबिच भेट भएपनि संवाद सकारात्मक नभएकाे उज्यालाे नेपालका एक केन्द्रीय सदस्यले बताए । ‘उज्यालो नेपाल पार्टीलाई अगाडि बढाउने निश्चित जस्तै भयो, अब निकै ठूलो सम्झौता भयो भने रोकिएला नत्र उहाँको मनस्थिति रास्वपासँग मिलेर जाने छैन,’ शुक्रबार बौद्धमा भएको छलफलमा सहभागी एक नेताले भने । भेटमा लामिछानेले दम्भ देखाएकाे भन्दै घिसिङ पनि सहकार्यका लागि अनिच्छुक हुन तहमा पुगेकाे स्राेतकाे दाबी छ ।
उज्यालो नेपाल पार्टीसहित कुलमान घिसिङ जाेडिँदा रास्वपा बलियाे शक्ति बन्ने ठानिएकाे थियाे । तर, कुलमान नजाेडिँदा रास्वपामा जाेडिएका बालेन पनि अलमलमा पुगेकाे बताइन्छ । रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा बालेनलाई अघि सार्ने सहमति गरेकाे छ । कुलमान विना बालेनकाे प्रधानमन्त्री सपना कसरी पूरा हाेला ? चासाेका साथ हेरिएकाे छ ।

