काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइराला महामन्त्रीहरूले घोषणा गरेको विशेष महाधिवेशनमा सहमत छैनन् । नियमित महाधिवेशन नहुने हो भने केन्द्रीय समितिबाट विशेष महाधिवेशनको निर्णय हुनुपर्ने काेइरालाकाे मत छ । उनले भनेका छन्, ‘महामन्त्रीहरू आफैंले विशेष महाधिवेशन गर्ने कुरा त हुँदैन । केन्द्रीय समितिले तय गरोस् विशेष महाधिवेशन । केन्द्रीय समितिले अधिवेशन गर्न कार्यविधि बनाउनुपर्‍यो ।´

त्यस्तै, उनले निर्धारित मितिमा महाधिवेशन नहुनुमा महामन्त्रीहरू पनि जिम्मेवार रहेकाे बताएका छन्  । ‘जसले जिम्मा लिएको छ क्रियाशीलको त्यो कम्प्लिट भयो ? किन कम्प्लिट भएन ? ९ जिल्लाको नवीकरण नै आएको छैन । नयाँ क्रियाशीलमा कसले क्रम संख्या नहाली पठायो ?,’ कोइरालाको प्रश्न छ, ‘महाधिवेशन ढिला त्यसकारण भएको हो, बुझनुपर्‍यो । कमजोरी हामीबाटै भएको छ । कमजोरी लुकाउने होइन । सुधार्ने हो । दोष अरुलाई दिएर मात्र हुँदैन ।’

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले यसअघि तय नियमित अधिवेशन स्थगन गर्दै विशेष महाधिवेशन घाेषणा गरेपछि आज दिउँसाे ३ बजे कार्यसम्पादन समितिकाे बैठक डाकिएकाे छ  । महाधिवेशनकाे विषयले कांग्रेसभित्र विवाद चर्केकाे छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर