काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालयको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ। जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पार्टीको केन्द्रीय कार्यालय उद्घाटन गरिएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले राजनीतिक दलहरू जनमुखी, पारदर्शी र उत्तरदायी हुनुपर्ने आवश्यकता औंल्याए। उनले देशको विकास र सुशासनका लागि नयाँ सोच, ऊर्जा र प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै उज्यालो नेपाल पार्टीले सकारात्मक राजनीतिक अभ्यासको उदाहरण प्रस्तुत गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा उज्यालो नेपाल पार्टीका केन्द्रीय पदाधिकारी, कार्यकर्ता तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। पार्टी नेतृत्वले केन्द्रीय कार्यालय उद्घाटनसँगै संगठन विस्तार, नीति निर्माण र जनसरोकारका मुद्दामा सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

पार्टीका अध्यक्षले केन्द्रीय कार्यालयलाई नीति, विचार र संगठनात्मक गतिविधिको केन्द्रका रूपमा विकास गरिने बताउँदै लोकतान्त्रिक मूल्य, सुशासन र समावेशी विकास पार्टीको प्राथमिक एजेन्डा हुने स्पष्ट पारे।

केन्द्रीय कार्यालय उद्घाटनसँगै उज्यालो नेपाल पार्टीले आफ्नो राजनीतिक गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर