काठमाडौं : मलेसिया सरकारले म्यानपावर व्यवसायीका लागि तोकेको १० वटा मापदण्डविरुद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध जनाएको छ। संघले मलेसियाको निर्णयले नेपाली व्यवसायीहरूमा सिन्डिकेट स्थापना गर्ने र एकाधिकार बजार बनाउने स्पष्ट संकेत भएको बताएको छ।
संघका अध्यक्ष भुवन गुरूङले सिन्डिकेट लागू गर्न खोजे संघले उठिवास लगाउने र मलेसिया सधैंका लागि बन्द गर्न बाध्य हुने चेतावनी दिएका छन्। नेपालले ति मापदण्डहरू कुनै पनि हालतमा लागू गर्न नहुने संघले अडान लिएको छ । मलेसियनको परराष्ट्र मन्त्रालयले मलेसियास्थित नेपाली राजदूतावासमार्फत नेपाल सरकारलाई पठाएको १० बुँदे मापदण्डसहितको पत्रबारे संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।उक्त पत्रअनुसार सीमित व्यवसायीहरूलाई मात्र मलेसिया रोजगारीमा काम गर्न अनुमति दिने गरी मलेसियाको रोजगारीमा सिन्डिकेट खडा गर्ने प्रयास भइरहेको संघको दाबी छ । मलेसियन सरकारको उक्त निर्णय र प्रस्तावले नेपाललगायत स्रोत मुलुकहरूमा सिन्डिकेट स्थापना गर्ने र केही सीमित व्यक्तिहरूको पक्षपोषण गर्ने/गराउने स्पष्ट संकेत दिएको संघले जनाएको हो ।
यसले निष्पक्ष र स्वस्थ प्रतिस्पर्धा, पारदर्शिता र समान रोजगारीका अवसरलाई कुल्चेर पेशा व्यवसाय गर्न पाउने मौलिक अधिकार तथा नेपालको संविधान र कानुनले बन्देज गरेको एकाधिकार बजार बनाउने संघका महासचिव महेश कुमार बस्नेतले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

