– बीपी साह/ आदरणीय केन्द्रीय अध्यक्ष ज्यू,
केन्द्रीय पदाधिकारी ज्यूहरु,
केन्द्रीय कार्यकारिणी समिति सदस्य ज्यूहरु,
केन्द्रीय सदस्य तथा पार्टीका नेता–कार्यकर्ता ज्यूहरु ।
१) जनमत पार्टीका करिब ३ सय ५० जना केन्द्रीय सदस्यहरुलाई ‘डमी केन्द्रीय सदस्य’को रुपमा वेवसाइटमा मात्र नाम राखेर सिमित नगरी निर्वाचन आयोगमा समेत सूचीकृत गराई बैधानिकता दिउँ । उहाँहरुलाई काम गर्ने भूमिका निर्माण गरी संगठन बलियो बनाउन जिम्मेबार बनाउँ । डमी केन्द्रीय सदस्यहरुको कुरा पनि सुनौं । उहाँहरुको सुझाव र सल्लाह अनुसार पार्टी पुर्नगठन गरौं । उहाँहरुलाई बोल्ने र छलफल गर्ने अवसर प्रदान गरौं ।
२) जनमत पार्टीको स्थायी कमिटीको नाममा रहेको राजतन्त्रीय व्यवस्था (आजिवन स्थायी कमिटी सदस्य रहने वा नरहे परिवारको सदस्य रहने)लाई विघटन गरौं । किनकी ९ सदस्यीय स्थायी कमिटीको नाममा स्वेच्छाचारी ढंगबाट हुने निर्णयले पार्टीलाई र नेतृत्वलाई तानाशाही बनाउनुका साथै जनता र संगठनको भावना विपरीत पार्टीलाई लगेको छ । आजिवन सदस्य र त्यसपछि परिवारको सदस्य रहने व्यवस्थाको स्थायी कमिटीमा पार्टी अध्यक्ष आदरणीय डा सीके राउतज्यू, उहाँको दाईभाउजुहरु क्रमसः महेश इशर–बबिता राउत, श्यामसुन्दर मण्डल–करुणा कुमारी पैकरा, स्वकीय सचिव सत्यनाराण मण्डल (एसएन मण्डल), छन् । परिवार बाहिरका अब्दुल खान (पार्टी छोड्न बाध्य बनाइएका), दीपक साह (पार्टी छोडाइएका) थिए । परिवार बाहिरका नरेन्द्र प्रसाद चौधरी (नरेन्द्र जीको दाजुलाई पार्टीमा ल्याएर नरेन्द्र जीलाई पार्टी छोडाउने सूचीमा), बशन्त कुशवाहा (मन्त्री हुँदा अनियमितताको आरोप र संसदीय बजेटको दुरुपयोग गरेको आरोप तथा उहाँको पिता जीको अडियो काण्डले कारवाहीको सूचीमा अर्थात कालो सूचीमा राखेर प्रदेश संसद पद जाने बितिकै पार्टीबाट निकालिने क्रममा रहेका), चन्दन सिंह (राइट टु रिकलमा फेल भएका र मन्त्री हुँदा अनियमितताको आरोप लगाएर पार्टीबाट कर्नरमा पारेर प्रदेश संसद पद जाने बितिकै कारवाहीको सूचीमा रहेका) हुनुहुन्छ । यो स्थायी कमिटी राख्ने नै हो भने पार्टीको महाधिवेशनबाट स्थायी कमिटी सदस्यको निर्वाचन गराउँ र कार्यकाल तोकौं ।
३) जनमत पार्टीको युवा जनमत संघ, विद्यार्थी जनमत संघ, किसान जनमत संघलगायतका सम्पूर्ण भातृ संगठनलाई पूर्णता दिउँ । तत्काल महाधिवेशन गराई कार्यकाल नसकेसम्म विघटन नगरौं । भातृ संगठनमा राम्रो काम गर्ने युवा नेताहरुलाई पार्टीमा भूमिका दिउँ ।
४) जनमत पार्टीको जिल्ला समन्वय समितिलाई अधिवेशनमार्फत पूर्णता दिउँ । स्वराज आन्दोलनदेखि लागेका नेता कार्यकर्ताहरुलाई पार्टी छोड्न बाध्य बनाउने, निस्क्रिय र भूमिका विहिन बनाउने, अपहेलित र अपमानित गराउने इनचार्ज बनाउने टिके प्रथाको अन्त्य गरौं । पार्टीभित्र लोकतान्त्रिक प्रक्रिया र सांगाठनिक प्रक्रिया अपनाउँ ।
५) जनमत पार्टीमा एक व्यक्ति एक पदको अवधारणालाई लागु गरौं । उदाहारणको लागि पार्टी अध्यक्ष आदरणीय डा सीके राउतज्यूको दाजु आदरणीय डा जयकान्त राउतज्यूलाई पार्टी उपाध्यक्ष, राष्ट्रिय परिषद् अध्यक्ष, संगठन विभाग प्रमुख, विदेश विभाग प्रमुख जस्ता सम्पूर्ण जिम्मेबारी र जनमत पार्टीले राज्यसत्ताबाट पाएको पहिलो राजनीतिक नियुक्ती (योजना आयोगको सदस्य)मा एकै व्यक्तिमा सिमित हुँदा, अध्यक्षज्यूको भाउँजु श्रीमति बबिता राउतज्यूलाई पार्टीको उपाध्यक्ष र स्थायी कमिटी सदस्य बनाउनु, मधेश प्रदेशको समानुपातिक सूचीमा पहिलो नम्बरमा राखिनु, समानुपातिक सांसद बनाउनु, जनमत पार्टीले पाएको पहिलो राजकीय पद अर्थात मधेश प्रदेशको उपसभामुख बनाइनुले पार्टीका अन्य नेता कार्यकर्ताहरुको मनोबल खस्किएको र भूमिका विहिन बनेको छ । डा जयकान्त राउत बाहेक अन्य पदाधिकारी वा नेताहरुलाई अन्य जिल्लाको कार्यक्रममा जान तथा सांगाठनिक गतिविधिमा सक्रिय हुन रोक लगाइएको जस्ता प्रतिबन्ध हटाएर संगठनमा सामुहिक गतिविधिमा सक्रिय बनाउँ ।
६) तलबी नियुक्तीमा अध्यक्ष आदरणीय डा सीके राउतज्यूको दाईभाउजु, सालासाली, नातागोताकाले मात्र झण्डै दुई तिहाई नियुक्ती र अवसर पाएका छन् (सूची यसैसाथ संलग्न छ) । यसलाई न्यूनिकरण गर्दै स्वराज आन्दोलनदेखि हालसम्म लागेका, आर्थिक रुपले कमजोर तथा पार्टीका लागि घरबार विहिन बनेका अन्य जिल्लाका नेता कार्यकर्ताहरुलाई पनि अवसर दिउँ । मन्त्री वा सांसद बनाउँदा पार्टीमा योगदानलाई पनि प्राथमिकतामा राखौं ।
७) स्वतन्त्र मधेश गठबन्धनदेखि हालसम्मको सबभन्दा महत्वपूर्ण भातृ संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए)बाट प्राप्त चन्दा, लेबी, सहयोगलाई पारदर्शी गरौं । बैदेशिक रोजगारीमा रहेका मधेशी युवाहरुको खुन पसिनाको रकम कहाँ, केमा र कसरी खर्च भयो ? त्यसको उपलब्धी के भयो ? उहाँहरुलाई जुन सपना बाँडिएको थियो त्यसमा कति काम भयो ? उहाँहरुलाई दिइएको आश्वासन अनुसार मधेशमा रहेका उहाँहरुको घर–परिवारको समस्यामा संगठनले कति सहयोग गर्यो ? गैर आवासीय मधेशी संघ बारे श्वेतपत्र जारी गरौं ।
८) पार्टीको विधान विपरीत एवं अबैधानिक रहेका केन्द्रीय अनुशासन समितिलाई बैधानिक बनाउँ र कारवाहीको नाममा फरक बिचार राख्ने, नेतृत्व विकास गर्न चाहनेहरुमाथी चलाइने कारवाहीको डण्डा र आतंकलाई बन्द गरौं । पार्टीको विधान अनुसार अनुशासन समितिलाई केन्द्रीय समितिबाट अनुमोदन गराउनु पर्ने हुन्छ तर हालसम्मको कुनै पनि अनुशासन समिति केन्द्रीय समितिबाट अनुमोदन नभई टिके प्रथामार्फत बनेकोले अनुशासन समितिद्वारा हालसम्म भएका सम्पूर्ण कारवाहीलाई रद गरी पार्टी छोड्न बाध्य बनाइएका नेताहरुलाई पार्टीमा फर्काउन पहल गरौं । आफ्नै पार्टीका नेता कार्यकर्ताहरुमाथी मुद्दा लगाउने, भौतिक आक्रमण गराउने कार्य बन्द गरौं ।
९) जनमत पार्टीले जेनजी आन्दोलनलाई समर्थन गर्छ भने जेनजी आन्दोलनको प्रमुख माग भ्रष्टाचारको अन्त्यका लागि जेनजी जनमत संघले स्वतन्त्र मधेश गठबन्धनदेखि हालसम्म गठबन्धन वा पार्टीको जिम्मेबार पदमा रहेका संयोजक–अध्यक्षदेखि सम्पूर्ण सांसद, पूर्वमन्त्रीलगायतको सम्पति छानविन गर्न राज्यमा उजुरी–निवेदन दिउँ । हामी सबै पदाधिकारीको सम्पति छानविन होस् । जेनजी आन्दोलनकै अर्को माग नेपोटिजमलाई पार्टीबाट पनि अन्त्य गरौं ।
१०) जनमत पार्टीका अध्यक्ष आदरणीय डा सीके राउतज्यूको निवासका लागि सांसदहरुलाई बाध्य बनाई बैंकबाट ऋण लिन लगाई तीन करोड ६० लाखमा खरिद गरिएको ललितपुर इमाडोलको घरको ऋण मिनहा गरी सांसदहरुलाई ऋण मुक्त गरौं । संघीय सांसदहरुको पदसमेत गइसकेको अवस्थामा उहाँहरुले आफ्नो घरपरिवारको सम्पति बेचेर बैंकको ऋण तिर्ने अवस्थामा पुगेकोले निर्वतमान माननीय ज्यूहरुको घरपरिवार सडकमा आउन सक्ने जोखिमलाई रोकौं ।
११) जनमत पार्टी स्थापना हुँदाको प्रमुख एजेण्डा भ्रष्टाचारको विरोध र सुशासनको सवाललाई कार्यन्वयन गरौं । जस्तै ‘राइट टु रिकल’को मुद्दा अरु पार्टीभन्दा फरक रहेकोले मधेशी जनताहरुले हामीमाथी विश्वास गरेको थियो । तर, त्यही ‘राइट टु रिकल’को कुरालाई हामीले छोड्यौं । एक पटक ‘राइट टु रिकल’को अभ्यास ग¥यौं तर असफल भएकाहरुलाई कुनै कारवाही वा फिर्ता बोलाउने कार्य भएन । पार्टीबाट निर्वाचित स्थानीय जनप्रतिनिधि तथा सांसदहरुको क्षेत्रमा ‘राइट टु रिकल’को अभ्यास भएपनि स्वयम् पार्टी अध्यक्ष आदरणीय डा सीके राउतज्यूकै क्षेत्रमा राइट टु रिकलको अभ्याससमेत भएन । यसले अन्य जनप्रतिनिधिहरुको पनि मनोबल गिरायो । संगठनभित्र पनि यसको अभ्यास भएन ।
१२) जनमत पार्टी स्वतन्त्र मधेशको एजेण्डाको जगमा अर्थात मधेश र मधेशीको हकअधिकारका लागि स्थापित संस्था भएकोले मधेशका प्रमुख एजेण्डाहरुप्रति जिम्मेबार बनौं । ‘समानुपातिक समावेशी’, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थाप्रति सचेत रहौं । बर्षैपिच्छे माग र मुद्दा परिवर्तन हुँदा जनतामा भ्रम फैलिने र जनमतका नेताहरुले ‘पल्टुराम’को संज्ञा पाउने खतरा रहेकोले पार्टीको राजनीतिक र बैचारिक धरातललाई विधान अधिवेशनमार्फत प्रष्ट पारौं ।
१३) जनमत पार्टीभित्रको आन्तरिक लोकतन्त्र, सामुहिक नेतृत्व र जिम्मेबारी बाँडफाँडलाई बलियो रुपमा स्थापित गरौं । पार्टी अध्यक्ष आदरणीय डा सीके राउतज्यूमाथी लाग्ने गरेको परिवारवाद, पैसावादको आरोपलाई खण्डन हुने गरी निर्णयहरु गरौं । पार्टीलाई एक व्यक्तिमा सिमित नगरी मधेश र मधेशीका लागि वर्षौवर्षसम्म काम गर्ने संस्थागत संगठनको निर्माण गरी जनताको उर्जालाई सदुपयोग गरौं ।
– यो प्रस्ताव र सुझावहरु मध्ये अधिकांश सुझाव मैले पार्टीको बैठकहरुमा राखिसकेको छु । अहिले पार्टी बैठकमा सहभागी हुन असमर्थ रहेकोले पार्टीको सम्पूर्ण पदाधिकारी, केन्द्रीय कार्यकारिणी समिति सदस्य, डमी केन्द्रीय सदस्य र नेता कार्यकर्ताहरुबीच छलफल भएर आगामी रणनीति बनाउने उदेश्यले सार्वजनिक गरेको छु । पार्टीको आसन्न महाधिवेशन टिके प्रथाबाट नभई निर्वाचनमार्फत हुने भए यो विषयहरुमा छलफल होस् र पार्टीले नयाँ दिशानिर्देश पाओस् भन्ने आशा छ । यो प्रस्ताव र सुझावहरु कसैको आलोचनाभन्दा पनि मेरो व्यक्तिगत आत्मालोचनासहित पार्टी संगठनलाई बलियो बनाउन र मधेश र मधेशीको हितमा बलियो संस्था निर्माण गर्ने उदेश्य छ । यसले पार्टी वा नेतृत्वलाई कमजोर बनाउने होइन, बलियो बनाउने पवित्र उदेश्य राखिएको जानकारी गराउन चाहन्छु ।
जय स्वराज, जय मधेश, जय देश ।।
(५ पटक स्पष्टिकरण र विना स्पष्टिकरण दोस्रो पटक निलम्बनमा परेका केन्द्रीय सचिव
जनमत पार्टी)
२०८२ असोज २२ गते



