समा थापा । देश जलेर खरानी भयो अब यहि खरानी घसेर कति जनालाई साधु र महान बन्न छ समयले देखाउँछ। नेताले देश लुटे भन्नेले १ दिनमा देश खरानी बनाए अनि नपुगेर लुटपाटको ताण्डव मच्चाए, यस्ताले १ हप्ता मौका पाए आफ्नै घर लुट्न पनि बाँकी नराख्ने रहेछन्। आन्दोलनको माग पुरा भएर शिर्ष नेतालाई युवाहरूको हत्यामा मुद्दा दायर गर्न सकिने अवस्थामा पनि यत्रो नरसंहार मच्चिएको छ भने यो भ्रष्टाचार विरुद्धको आन्दोलन होइन र यो विभिन्न तत्वसँग मिलेर आफ्नो रोटी सेक्ने दाउ हो
। घुसपैठ भएपनि ती घुसपैठिया पनि नेपाली युवा हुन्, राष्ट्रको धरोहर दनदनी जल्दा त्यो रापले तन र मन नपोल्ने भविष्यका कर्णधार कसरी बन्न सक्छन्?

रगतको आहालमा खेल्ने सुरक्षा संयन्त्र, त्यसको बदला भन्दै जीवनभर सादगी जीवन बिताएकी शालिन नेता पत्नी जो प्रोफेसर समेत हुन् तिनलाई जिउँदो जलाउने प्रयास गर्ने,प्रहरी चौकी जलाएर पुलिसलाई जिउँदै मार्ने, जेलमा रहेका अपराधी भगाउने,मानिसका निजी सम्पत्ति खोजिखोजि जलाउने, बैंक सम्म लुट्न तयार समूह सबै नेपाली युवा हुन् भने मलाई आज नेपाली भन्न पनि लाज लागिरहेको छ। सिहंदरबार, राष्ट्रपति भवन यी नेताले मर्दा नामसारी गरेर लान्थे? त्यसमा त तपाईं हामी जो कोही को पनि बस्ने अधिकार थियो होइन ? हाम्रो भवन मात्र होइन हाम्रो विश्वास, ईतिहास र सान पनि सँगै जलेको छ। मीन बहादुर गुरुङ, हो उनी एमालेसँग निकट होलान् तर उनले तपाईं हामीले कल्पना गर्न नसक्ने गरि दान गरेका छन्,हरेक विपदमा सहयोग गर्छन्, कैयन पटक टिचिङ अस्पताल जाँदा उनले बनाएका भवन देख्दा लाग्थ्यो उनलाई परमात्माले अझै दिउन र उनी यसरी नै सेवा गरि रहुन्, हजारौंले रोजगारी पाएको भाटभटेनी शुन्यबाट शुरु भएको मिनबहादुरको लगनको धरोहर हो , यो हाम्रा लागि प्रेरणा पनि हो ।

खैर , हामी उज्यालो भविष्य भन्दै ठूलो अन्धकारमा धकेलिएका छौ यसको उत्तर सायद समयले दिनेछ। तारे होटल जलेका छन् यसले हाम्रो छवि अन्तर्राष्ट्रिय समुदायमा कस्तो पर्छ? यसको भर्पाई कसरी हुन्छ? हाम्रो पर्यटन उठ्न नसक्ने गरि ढलेको छ।ध्वंस गर्न १ दिन काफि छ निर्माण गर्न अब अर्को पुस्ता लाग्छ, देश भनेको ईटा र सिमेन्टको धरोहर मात्र होइन ईतिहासको दस्तावेज पनि हो । पुननिर्माण पनि होला तर आज हरेक नेपालीको आत्मबल डगमगाएको छ, सम्पत्ति त फेरि जोडिएला तर मानिसका घर जल्दा थपडी मार्ने, युवतीहरु बसेका होस्टेलमा लछारपछार गर्ने संस्कार नेपालीको हो भने यो देश कुनै माईकालाल आएपनि बन्दैन ।मान्छे नबन्ने समाज कहिँ पुग्दैन ।

मनमा प्रश्न त कति छन् कति, तर अहिले उब्जिएको सबैभन्दा ठूलो प्रश्न २ किमि पर रहेका हाम्रा राष्ट्रिय धरोहर दनदनी बलेर खरानी बन्न लाग्दा सेना किन निभाउन गएन? पुलिस कहाँ थियोे ? १० बजेको साईत के का लागि कुरिरहेको थियो ? कसको आदेश कुर्दै थियो ? अनि आन्दोलनमा जान उक्साउने सेलिब्रेटी र ईन्फ्ल्युएनसरले यो भाडभैलोको जिम्मा लिन पर्छ कि पर्दैन ? अनि २० जना युवा मरे त्यो के हो भन्नुहोला? हजुर अब यी सबपछि ती युवाको रगत खेर गएको छ किनकि उनीहरुको बिसुद्ध माग धुमिल भएको छ, उनीहरुलाई सम्झने फुर्सद छैन किनकि अब मुद्धा र ध्यान डाईभर्ट भयो , किनकि अराजकता यति हावी भयो कि ती अवोध युवाहरुको शहादत बिर्साउने गरि स्वार्थ समुह जुरमुराई सके। साँच्चै मनमा हजार प्रश्न त छदैछ त्योभन्दा बढी असहैय पीडा छ। थाहा छैन को कसले जिते तर देशले हारेको छ आज।

अब यो पुस्ताले माओवादीले हिंसा र उदण्ड मच्चाए भन्ने नैतिक अधिकार पनि गुमाएको छ। हामीले भ्रष्ट शासनको अन्त्य खोजेका हौ, देशलाई स्वाहा बनाएर कानुन,विधि,मानवता, व्यवस्था र धरोहरको अन्तय गर्न होइन ।
मलाई थाहा छ, आज आन्दोलनको रापमा यति बोल्दा कति गालीको वर्षा र तिरस्कार खान्छु तर जता हावा बग्यो उतै बहकिने मेरो आदत छैन, आफ्नो ब्रम्हले देखेको सत्य सधैं बोल्नेछु ।

त्यो पापी प्रकृतिसँग पनि रिस उठेको छ जो हिजो देश दनदनी बल्दा पानी बनेर बर्सिन पनि सकेन।
म मरे पनि मेरो देश बाँची रहोस्, जय देश।

साभार : पत्रकार समा थापाको वालबाट

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको