काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्य प्रगतिबारे छलफल गरिएको छ । सोमबार बसेको पर्यटन समितिको बैठकले मन्त्रालयको कार्य प्रगति एवं आगामी आर्थिक बर्षको कार्यक्रम,योजना र रणनीति सम्बन्धमा छलफल गरेको हो।
उक्त समितिको बैठकमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको क्षेत्र, पर्यटनको क्षेत्र र नागरिक उड्डयनको क्षेत्र विषयगत हिसावले निकै वृहत रहेको बताए। उनले विषयगत हिसावले निकै वृहत भएपनि स्रोत साधनको हिसावले निकै खुम्चिएको बताए।
उनले भने, ‘विशेषगरी यो तीनवटा क्षेत्र विषयगत हिसावले निकै वृहत छ संस्कृतिको क्षेत्र, पर्यटनको क्षेत्र र नागरिक उड्डयनको क्षेत्र। तर स्रोत साधनको हिसावले निकै खुम्चिएको देखिन्छ। अहिले हजारौं हजारौं निवेदनहरु मन्त्रालयमा, सचिवालयमा दर्ता भएका छन् । तर त्यसका निम्ती मन्त्रालयसँग सार्मथ्य छैन्।
आवश्यकता सबैतिर होला, मन्दिर, गुम्बा मस्जिद लगायतका क्षेत्रको विकासको कुराहरु देखिन्छन्। एयरपोर्टहरु छन् तर पुगिरहेको अवस्था छैन। भएका ठाउँमा गुणस्तर सुर्धानुपर्ने अवस्था छ। टर्मिनल बनाउनुपर्नेलगायत विविध कामहरु गर्नुपर्ने देखिन्छ । यसो हुँदा पनि बजेटको अवस्था सामान्य छ।’
यसैगरी मन्त्री पाण्डेले सुधारका पक्षहरु थुप्रै भएपनि मन्त्रालयमा बजेट कम रहेको बताए । उनले जुनजुन निकायले आफैं बजेट बनाउँछन् ति निकायसँग एकदिन समितिले छलफल गर्नुपर्ने समेत बताए।
उनले भने, ‘जुनजुन निकायले आफैं बजेट बनाउँछन् ति निकायसँग एकदिन समितिले छलफल गर्दा सकारात्मक हुने विश्वास लिएको छु । नागरिक उड्डयनको क्षेत्रमा नेपाल एयरलायन्सलाई सुचारु बनाउने सन्दर्भमा पनि गहन छलफलमै छौं । प्लेन नथपिकन कुनै उपाय नै छैन । १० वटा देशभित्रै चल्ने प्लेन र १० वटा वाइडबडि र १० वटा न्यारोबडी भइदिएको भए मात्रै अहिले जति पनि ठाउँमा आवश्यक्ता छ त्यो पूरा हुने थियो भन्ने छ।’

