काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभा निर्वाचनमा उमेदवार चयनकाे विषयमा फरक मत राखेका छन् । थापाले राष्ट्रिय सभामा उमेदवार चयन गर्दा मापदण्डविपरित गएकाे भन्दै असहमति राखेका हुन् ।
आइतबार बेलुका उमेदवार चयन गर्न बसेकाे बैठकमा थापाले दुई बुँदे लिखित फरक मत राखेका हुन् ।
के छ फरक मतमा ?
१.हाम्रो संविधानले राष्ट्रिय सभामा खासगरी प्रतिनिधिसभामा प्रतिनिधित्व हुन नसकेमा जाती, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका एवं विज्ञ व्यक्तिहरूको उपस्थितिको परिकल्पना गरेको छ ।यसै गरि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पौष १२-१४ गतेसम्म वसेको वैठकले राष्ट्रिय सभा को उम्मेदवार चयन सम्बन्धमा “ हालसम्म कुनैपनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वन्चित भएका योग्य तथा लोकप्रिय ब्यक्तिलाई प्राथमिकता दिने” लगायत को मापदण्ड तय गरेको थियो।
संसदिय बोर्ड को आजको बैठक ले उम्मेदवार को चयन गर्दा माथि उल्लेखित पक्षमा यथेष्ट ध्यान पुर्याउन सकेन।
२. यो निर्णयले पार्टीमा कुनै पनि आग्रह नराखिकन निर्णय हुन्छ, सवै तह र तप्काका साथीहरूलाई समान ढङ्गले न्यायको अनुभुति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुन एक पट्क खण्डित गरेको छ । यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउँछ ।
अत: आजको निर्णय प्रती मेरो लिखित असहमति रहेको छ।
मेरो असहमति को वावजुद बैठकमा बहुमत ले गरेको निर्णय कार्यन्वयनमा जाँदा मेरो पूर्ण सङ्ग्लग्नता रहने नै छ।
गगनकुमार थापा
महामन्त्री
२०८० पौष २२



