काठमाडौं, निर्वाचन आयोग र सतर्कता केन्द्रले कारवाही गर्न सिफारिस गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलको जिम्मेवारी खोसेको छ । आयोग र केन्द्रले वीर अस्पतालका कार्यकारी निर्देशक डा.पौडेल नेपाल कम्युनिष्ट पार्टी एमालेको सदस्य र जनसंगठनको महासचिव पदमा क्रियाशील रहेको भन्दै आवश्यक कारबाहीको लागि सिफारिस गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई वीरको निर्देशकको जिम्मेवारीबाट हटाउदै मन्त्रालय तानेका हुन ।
निर्वाचन आयोग र सतर्कता केन्द्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै डा.पौडेलका सम्बन्धका बिषयमा उजुरीको आधारमा कारबाहीको लागि सिफारिस गरेको जनाएको छ । स्वास्थ्य सेवा नियमावली अनुसार कुनै पनि चिकित्सक राजनतिक पार्टीको सक्रिय सदस्य हुन पाउदैन । यसका साथै उपल्लो तहको चिकित्सक जनवर्गिय संगठनको सदस्य हुन समेत बन्देज गरिएको छ ।
आयोगले पठाएको पत्रमा भनिएको छ, ’वीर अस्पतालका कार्यकारी निर्देशक डा पौडेल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) को सदस्य र जनसंगठनको महासचिव पदमा क्रियाशील रहेको भनी प्राप्त हुन आएको उजुरीको छायाप्रति यसै पत्रसाथ संलग्न छ’ पत्रमा भनिएको छ, ’ निज सन्तोष पौडेल स्वास्थ्य सेवामा कार्यरत कर्मचारी रही हाल वीर अस्पतालको निर्देशकको पदमा कार्यरत रहेको भन्ने जानकारी प्राप्त हुन आएकोमा संलग्न उजुरी यसैसाथ संलग्न गरी आवश्यक कार्यार्थ पठाइएको व्यहोरा अनुरोध छ ।’
कार्यकारी निर्देशक डा पौडेल नेकपा (एमाले) को सदस्य तथा सो दल सम्बद्ध जनसङ्गठन राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालका महासचिव रहेको उजुरी परेको थियो। नेपाल सरकारबाट नियुक्त डा पौडेल दलको सदस्य र जनसङ्गठनको पदाधिकारी रहेकोले गत असारमा कारबाहीको माग गर्दै उजुरी परेकोमा आयोगले छानबिन गरेको थियो । नेकपा एमालेको वेभसाइटमा नै डा पौडेल सदस्य रहेको उल्लेख छ ।
यसैबीच राष्ट्रिय सतर्कता केन्द्ले पनि डा सन्तोष पौडेललाई आवश्यक कारबाहीको लागि स्वास्थ्य मन्त्रालयमा पत्र पठाएको छ । केन्द्रले ट्रेड युनियनसँगको संलग्नता स्वास्थ्य सेवा ऐन, २०५३ दफा ९२ (क) मा भएको व्यवस्था आकर्षित हुने भन्दै आवश्यक कारबाहीका लागि पत्र पाएको हो ।
’वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेल ट्रेड युनियनमा आवद्ध भै कामकाज समेत गरेकोले छानबिन गरी पाउँ भनी केन्द्रमा उजुरी दर्ता भएकोमा सो विषयमा छानबिन गर्न यस केन्द्रबाट छानबिन समिति गठन भै प्राप्त प्रतिवेदन अनुसार राष्ट्रिय ट्रमा सेन्टरपछि वीर अस्पतालमा समेत कार्यकारी निर्देशकको रुपमा कार्यरत निज डा सन्तोष पौडेलको ट्रेड युनियनसँगको संलग्नता स्वास्थ्य सेवा ऐन, २०५३ दफा ९२ (क) मा भएको व्यवस्था आकर्षित हुने देखिएकोले प्रचलित कानुनमा भएको व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयन गर्नु अनुरोध छ।’ पत्रमा भनिएको छ ।
जिम्मेवारीबाट हटाइएपछि डा. पौडेलले आफ्नो गल्ती स्विकार गर्नु भन्दा फेस बुकमा स्वास्थ्य मन्त्रालय र स्वास्थ्य मन्त्रीलाई अनावश्यक लाल्छना लगाउने काम गरेको प्रति चिकित्सक र स्वास्थ्यकर्मीले आश्चर्य व्यक्त गरेका छन् ।



