बुटवल : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिर्ष नेताहरूका कारण गणतन्त्र संकटमा परेकाे बताएका छन् । आज कांग्रेस लुम्बिनी प्रदेशले आयाेजना गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै थापाले गणतन्त्रकाे मुकुट ढाकेका ४/५ जना शिर्ष नेताका कारण गणतन्त्रकाे राप,ताप र प्रकाश नदेखिएकाे बताए । गणतन्त्रपछि सरकार र सत्तामा एउटै व्यक्ति हावी भइरहेकाेतर्फ थापाकाे संकेत थियाे । गणतन्त्रपछि कांग्रेसमा शेरबहादुर देउवा, एमालेका केपी ओली, माओवादीका प्रचण्ड पार्टी नेतृत्वमा लगातार छन् भने उनीहरूनै प्रधानमन्त्रीकाे म्युजिकल चेयरमा छन् ।
गणतन्त्रकाे चिन्ता गरेकाे भन्दै थापाले एउटा काम गर्न सुझाव दिए । `गणतन्त्रका बारेमा चिन्ता गर्नुपर्दैन, एउटा काम गरिदिएपुग्छ,´ उनले भने,`गणतन्त्रकाे मुकुट ढाकेका शिर्ष नेतालाई त्यहाँबाट ओरालिदिऊँ ।´ थापाले शिर्ष नेतालाई ससम्मान अहिलेसम्म गरेकाे याेगदानकाे कदर गर्दै अब नयाँ पुस्ताले जिम्मेवारी लिनुपर्ने बताए । थापाले मिसन ०८४ काे चिन्तन भन्दा अहिले पाएकाे भूमिकामा न्याय गर्नुपर्नेमा जाेड दिए । `भाेटकाे मात्र हिसावकिताव गर्ने हाे भने देशकाे जिम्मा कसले लिने ? ´ थापाले भने, ` कांग्रेसले चुनावकाे मात्र चिन्ता गर्दैन । भाेटकाे मात्र साेच्थ्याे भने केपी ओलीले घाेषणा गरेकाे चुनावमा कांग्रेस सहभागी हुन्थ्याे । एकातिर ओलीकाे एमाले अर्काेतिर प्रचण्ड – माधव । कम्युनिस्ट पार्टी दुईचिरा भएकाे अवस्था थियाे । कांग्रेसले दुई तिहाई ल्याउँथ्याे ।´
त्यतिबेला संविधान जाेगाउन कांग्रेसले चुनावमा नगएकाे स्मरण गराउँदै थापाले कांग्रेसले व्यवस्था पनि बचाउँछ, अवस्था पनि बदल्छ भन्ने विश्वास दिलाउनुपर्छ ।´



