काठमाडाैं : नेपाली कांग्रेसका नेता प्रदीप पाैडेल अहिले भूकम्पप्रभावितका लागि अस्थायी घरटहरा निर्माणका लागि जाजरकाेटमा छन् । उनले आज एक अपिल जारी गर्दै सरकारले घाेषणा गरेकाे राहत पीडितसम्म आउन ढिला भएकाे भन्दै सरकारकाे ध्यानाकर्षण गराएका छन् ।
`सरकारले भूकम्पबाट प्रभावित नागरिकलाई तत्काल पचास हजार रुपैयाँ दिने घोषणा गरेको थियो । घोषणा गरेको सहयोग रकम अझै सम्म पनि भुकम्प पीडित जनताको हातमा पर्न सकेको छैन । यहाँको स्थानीय प्रशासनबाट प्राप्त जानकारी अनुसार उक्त सहयोग रकम हस्तान्तरण गर्न अझै दुई हप्ता लाग्ने भनिएको छ,´ पाैडेलले अपिलमा भनेका छन् ।
हेर्नुस् अपिलमा के छ ?
सम्माननीय प्रधानमन्त्री ज्यू ।
हामी जाजरकोटमा छौं । यहाँको अवस्था अत्यन्तै नाजुक छ । अधिकांश घर क्षतविक्षत छन् । चिसो बढ्दै गएको छ । बिरामी, सुत्केरी, बालबालिका र वृद्धवृद्धाको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गएको छ । धेरै जसो परिवार सँग न्यानो लत्ता कपडा समेत छैन । यहाँका नागरिकलाई चिसोबाट जोगाउन तुरुन्तै अस्थाई टहरा निर्माण गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्छ होइन भने पुसको ठण्डीमा जीवन रक्षा गर्न सकिँदैन ।
सरकारले भूकम्पबाट प्रभावित नागरिकलाई तत्काल पचास हजार रुपैयाँ दिने घोषणा गरेको थियो । घोषणा गरेको सहयोग रकम अझै सम्म पनि भुकम्प पीडित जनताको हातमा पर्न सकेको छैन । यहाँको स्थानीय प्रशासनबाट प्राप्त जानकारी अनुसार उक्त सहयोग रकम हस्तान्तरण गर्न अझै दुई हप्ता लाग्ने भनिएको छ ।
एक त सहयोगका लागि धेरै नै ढिला भई सकेको छ भने अर्कोतिर अझै दुई हप्ता लाग्ने विषयले सरकारको ध्यान आफ्ना नागरिकमा भन्दा धरै सत्ता लिप्सामा देखिन्छ ।
मंसिर ७ काे चटारोले सरकारलाई भ्याई नभ्याई नै होला । थोरै समय निकालेर भए पनि यहाँका नागरिकको जीवन रक्षा गर्ने सवाललाई ध्यान दिन आग्रह गर्दछु । यस विषयलाई पहिलो प्राथमिकतामा राखेर अत्यन्तै गम्भीरतापूर्वक आवश्यक कदम चाल्न सरकारलाई सचेत समेत गराउँछु ।
धन्यवाद ।
जय नेपाल !



