काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शीर्ष नेताहरूलाई विश्राम लिन आग्रह गरेका छन् । उनले अहिलेका शिर्ष नेताहरूले गणतन्त्रका लागि दिनुपर्ने याेगदमन गरिसकेकाे भन्दै अब विश्राम लिनु नै अर्काे याेगदान हुने सुझाव दिएका हुन् ।
`यो गणतान्त्रिक व्यवस्था स्थापना गर्न तपाईंहरू( शीर्ष नेता ) ले निभाउनु भएको भूमिका महत्त्वपूर्ण छ। इतिहासले सधैँ सम्झिने छ। तपाईंहरू फेरी भन्दै हुनुहुन्छ यो व्यवस्था बलियो बनाउन एकजुट हुनु पर्यो। मैले भन्दै आएको छु, फेरी भन्छु-‘तपाईं शीर्ष नेताहरूले यो व्यवस्थामा गर्न र दिन सक्ने सबै योगदान दिइसक्नुभयो। अब सक्रिय राजनीतिबाट विश्राम लिदिनु भयो भने, यो व्यवस्थालाई कसैले केही गर्नै सक्दैन,´ थापाले भनेका छन्, `यो व्यवस्थालाई बलियो बनाउन तपाईंहरू एकजुट भएर यही एउटा मात्रै काम गरिदिनुहोस् ।इतिहासले तपाईंहरूलाई अझै श्रद्धापूर्वक सम्झिने छ,सम्मान गर्नेछ। र, गणतन्त्र विरुद्ध जस्तो अराजक आवाजहरू उठिरहेका छन्, ती आवाजहरू आफैँ हराउँदै जानेछन्। आम जनतामा व्यवस्था प्रतिको विश्वास अझै मजबुत हुनेछ।´



