काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११औँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठले तीन महिनाभित्र संघलाई भावनात्मक र सङ्गठनात्मक रूपमा एकताबद्ध गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गर्दै श्रेष्ठले आफ्नो टिमलाई मात्रै होइन विश्वभरका सम्पूर्ण गैर आवासीय नेपालीहरूलाई मिलाउनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए ।
उनले भने,‘१०औँ महाधिवेशनपछि संस्था विभाजित अवस्थामा छ । केही साथीहरू असन्तुष्ट भएर बेग्लै अधिवेशन पनि गर्नुभयो । तर म तीन महिनाभित्र असन्तुष्ट साथीहरूलाई एकताबद्ध गराएर इतिहास बनाउन चाहन्छु ।’
यस अघि पनि एनआरएनएलाई पटक पटक वैधानिक रूपमै विभाजित गर्ने प्रयासलाई आफूले रोकेको दाबी गर्दै दुई बर्षभित्र परिणाममुखी काम गर्ने प्रतिबद्धता पनि जनाए । ‘म विजयी भएर शपथ गरेको दिनदेखि एक्सनमा काम गर्नेछु । संघमा रहेका सबै पदाधिकारीहरूलाई कामको विभाजन गरेर परिणाम दिलाउनेछु,’उनले भने ।
त्यस्तै महासचिवका उम्मेदवार वुद्धिसागर सुवेदीले एनआरएनएलाई एकताबद्ध, परिणाममुखी र पारदर्शी रूपले अघि बढाउन टिम महेशलाई सहयोग गर्न आग्रह गरे । उनले मेरो र हाम्रो होइन राम्रोलाई सहयोग गर्न सबैमा अनुरोध गरे ।
पत्रकार सम्मेलनमा उपाध्यक्षका उम्मेदवारहरू डा.केशव पौडेल(अमेरिका), गंगाधर गौतम(बेल्जियम), नारायण आचार्य(नेदरल्याण्ड) सुनिल साह(अमेरिका),राज रेग्मी (कतार), रोबिन शेरचन(जापान), रोजिना प्रधान राई(बेलायत) रोशन थापालगायतले टिम महेशलाई विजयी गराउन आग्रह गरे ।
त्यस्तै, उप महासचिव पदका उम्मेदवार सोम सापकोटा(बेलायत), प्रवीण गुरुङ(कतार),सचिव पदका उम्मेदवार दयानिधी सापकोटा(बेलायत), मनोज श्रेष्ठ गोर्खाली(युएइ) भीम केसी कमल(पोर्तुगल), कृष्णजिवी पन्त(अमेरिका) स्वतन्त्र प्रताप शाह(अस्ट्रेलिया), केपी सिटौला(दक्षिण कोरिया), महिला सचिव विमला सापकोटा(क्यानडा)ले पनि टिम महेशलाई समर्थन गर्दै विजयी गराउन आग्रह गरे ।
पत्रकार सम्मेलनमा सहभागी भएका कोषाध्यक्षका उम्मेदवार ठाकुर ढुङ्गाना (युएई), सह कोषाध्यक्षको उम्मेदवार तिलक गैरे(पोर्तुगल), कृष्ण तिमल्सिना(बेलायत), मोहम्मद मुक्तदा मुसलमान(कतार)ले टिम महेशलाई जिताउने प्रतिबद्धता जनाए । त्यस्तै गरी महिलातर्फ सह कोषाध्यक्ष उम्मेदवार तृष्णा शर्मा काफ्ले(अमेरिका), युवा संयोजकका उम्मेदवार रविन अधिकारी, महिला संयोजककी उम्मेदवार अनुजा प्रधान, युरोप संयोजक चिन्तामणि सापकोटा(बेल्जियम)लगायतका उम्मेदवार साथै निर्विरोध निर्वाचित भइसकेका पदाधिकारीहरूले पनि टिम महेशलाई समर्थन गर्दै विजयीको शुभकामना व्यक्त गरे ।



