काठमाडौं : नेपाल विद्यार्थी संघले इञ्जिनियरिङ अध्ययन संस्थानसँग भएकाे सहमति र त्यसपछि भएका घटनाक्रमबारे सार्वजनिक अपिल जारी गरेकाे छ । अध्यक्ष दुजाङ शेर्पाले जारी गरेकाे अपिलमा शुल्क घटाउने सहमतिमा संस्थान इमान्दार नदेखिएकाे भन्दै तत्काल प्रवेश परिक्षाकाे प्रक्रिया अघि बढाउन माग गरिएकाे छ  ।

नेविसंघले संस्थानले गरेकाे शुल्कवृद्दिविरूद्द आमरणअनसन देखि बालुवाटार घेराउसम्मकाे कार्यक्रम गरेकाे थियाे । साे क्रममा शुल्क पुनरावलोकन गर्ने सहमतिपछि नेविसंघले आन्दोलन राेकेकाे थियाे । तर, सहमतिमा इञ्जिनियरिङ अध्ययन संस्थान इमानदार नदेखिएपछि नेविसंघले अब चुप नबस्ने चेतावनी दिएकाे छ ।

यस्ताे छ अपिल :

सार्वजनिक अपिल

आदरणीय विद्यार्थी साथीहरु ,
सम्पुर्ण महानुभावहरु

ईन्जिनियरिङ्ग अध्ययन संस्थानमा पछिल्लो समयमा देखापरेको शुल्क सम्बन्धि अन्योलको तार्किक समाधान तथा यसका तमाम बेथिति एवं विकृति हरुको विरुद्द आम विद्यार्थीको प्रतिनिधित्व गर्दै हामी निरन्तर आन्दोलन र अभियानमा अग्रसर रहेको कुरा यहाँहरुलाई अवगत नै छ।

अपारदर्शी तरिकाले शुल्क बृद्दि गरि आम विद्यार्थीको शोषण गर्ने पछिल्लो कदम र ईन्जिनियरिङ्ग अध्ययन सँस्थानलाई विगत देखि नै विभिन्न आवरणमा भइरहेको प्रहारहरुले यसको गरिमामाथि परेको असरबाट हामी साँच्चै निक्कै संवेदनशिल रहेका छौँ। यसैबिच सरोकारवालाको न्यूनतम मान्यता र परामर्श नसमेटी, पर्याप्त पारदर्शी आधारहरु बिना नै पछिल्लो समयमा गरिएको शुल्क वृद्दिको कारण हामीले त्यसलाई तत्काल हुबहु स्विकार गर्ने कुनै आधार देखेनौँ । हाम्रा साथीहरुले विद्यार्थीवर्गको उच्च शिक्षाको न्युनतम अधिकारको सुलभ पहुँचको लागि आमरण अनसन सम्मको गम्भिर कदम उठाउन बाध्य हुनुभयो।

हामीले देशभित्र उच्च प्राविधिक शिक्षाको अवसरको ढोकाहरु बन्द गरिनुहुन्न र बिना अवरोध प्रवेश परिक्षाको मार्गप्रसस्त गरिनुपर्छ भन्ने जिम्मेवारिबोध गरि प्रधानमन्त्रीको मौखिक निर्देशन तथा त्रिविका उपकुलपतिसहित केन्द्रिय पदाधिकारिसहितको लिखित सहमतिका आधारमा हाम्रा साथीहरुलाई समेत आवश्यक विश्वास दिलाई आन्दोलनको स्वरुपहरु परिवर्तन गर्दै निरन्तर खबरदारिमा रह्यौँ।

यसै सहमति अनुसार बनेको शुल्क पुनरावलोकन समितिमा समेत हामीले निरन्तर आम नेपाली विद्यार्थीको प्रतिनिधित्व हुने गरि आफ्ना अभिमत तथा सरोकारहरु राख्याै । त्यस समितिले हाम्रा मतहरुको वेवास्ता गर्दै इअसंको प्रशासनिक दबाबमा नयाँ तर बिना आधारको अर्को प्रस्ताव पेश गरेको भन्ने सम्मको जानकारी हामीलाई त्यहाँ रहेका विद्यार्थी प्रतिनिधिहरुबाट प्राप्त भयो। देशको प्रविधिक शिक्षा को मेरुदण्डको रुपमा रहेको इन्जिनियरिङ्ग अध्ययन सँस्थानका आङ्गिक क्याम्पसहरुको हालसम्मको खर्चशैली तथा केही समयानुकुल विविध पक्षहरुको समायोजनमा चुकेको कारण हाम्रा सँस्थाहरु धरासायी बनेको कुरा हामिले विगतको बर्षहरुमा पनि निरन्तर उठाएकै थियौँ। यसमा शुल्क यौटा निकै मामुलि विषय हो र त्यसका अन्य पाटोहरु थप बढि गहन छन् भन्नेमा हामी आज पनि विश्वस्त छौँ।

हाल क्याम्पसहरुले गरेको मनोमानि सञ्चालनशैलीको कारणले समेत देखिएको खर्चको असन्तुलनलाई सम्बोधन गर्न पनि प्रस्तावित र पुनर्प्रस्तावित भन्दा निकै कम शुल्कको बढोत्तरि पर्याप्त छ भन्ने हाम्राे निष्कर्ष छ । सोहि सम्मको बढोत्तरिलाई स्विकार्य बनाउन र त्यसलाई सरोकारवाला समक्ष बुझाउन हामी पनि सँगै लाग्ने प्रतिबद्दता पनि हामिले हाम्रा अनौपचारिक वार्ताहरुमा भनिरहेका छाैं । अपारदर्शि खर्चप्रणालीलाई पारदर्शी बनाउन, सँस्थानलाई प्राप्त दरबन्दि तथा अधिकारहरुको बारेमा त्रिविसँग डटेर लड्न, क्याम्पसहरुको व्यवस्थापनमा युगानुकुल नयाँपन तथा सुधार ल्याउन तथा विविध सन्तुलनका पक्षमा इअसं प्रशासनकै साथमा रहि निरन्तर लाग्ने समेत हामिले बारम्बार प्रतिबद्दता जनाईरह्यौँ। तर विद्यार्थीलाई अन्य विश्वविद्यालयतर्फ केन्द्रित गराउने, विदेश जान प्रोत्साहित गरि गलत बाटोबाट आफ्नो निजि स्वार्थपूर्ति गर्ने धन्दाको प्रलोभनमा चुर्लुम्म भएका केहि व्यक्तिहरुको हठका कारण त्यस यता प्रवेश परिक्षा सञ्चालनका कुनै ठोस प्रक्रिया तथा समय तोकिएको छैन। प्रवेश परिक्षा समयमा नहुनु भनेको राज्यलाई अबौँ घाटा गराउने प्रपञ्च हो । यसको मतियार इअसं भित्रैका केहि मानिसहरु बनिरहेका छन् र त्यहि हठमा इमान्दार गुरुहरु समेत मुछिरहनुभएको हामीलाई अवगत छ।

यो इअसंको साझा समस्या हो। यसमा कसैले कसैलाई दोष लगाएर उम्कन मिल्दैन। हाललाई न्युनतम मात्र सन्तुलनको मार्गप्रसस्त गर्दै तत्काल प्रवेश परिक्षाको मिति तोकि प्रक्रिया सुचारु गर्न हामी चेतावनीपूर्ण आग्रह गर्दछौँ। अन्यथा अब धैर्यता र जिम्मेवारिबोधलाई नेविसंघको कमजोरि नठानियाेस् । हामीले उठाउँदै आएका मागलाई गाम्भिर्यता महसुस गरि मार्गप्रसस्त गर्न वा आन्दोलनको सामना गर्न तत्पर रहन चेतावनी पनि दिन चाहान्छौँ।

अन्योलमा रहेका विद्यार्थी तथा तिनका अभिभावकहरुलाई हामी यथासिघ्र यो समस्या समाधानका लागि नेविसंघले प्रयत्न जारी राखेकाे पनि अवगत गराउन चाहन्छाैं । तपाईँहरुको प्रविधिक उच्च शिक्षाको सुनिश्चितता यस देशभित्रै गर्ने वाचा गर्दै धैर्यता साथ आफ्नो तयारी गर्न अपिल गर्दछौँ ।

जय नेपाल

दुजाङ शेर्पा , अध्यक्ष

 

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर