काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेकाे बताएका छन् । थापाले शिक्षकहरूलाई आन्दोलनकाे स्वरूप बदल्न पनि आग्रह गरेका छन् ।
`विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौँ´, थापाले फेसबुकमा लेखेका छन् । विधेयकमा आपत्ति जनाउँदै मंगलबारबाट शिक्षकहरूले काठमाडौं केन्द्रीत आन्दाेलित चर्काएका छन् ।
`विद्यालय शिक्षा सम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू छन्, ती सुधार गर्नै पर्नेछ। संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो। हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौँ । आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सवैका जायज माग र चिन्ताको संवोधन गर्ने कुरामा प्रतिबद्ध छौ´, थापाले लेखेका छन्, `अतः सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायत सबै पक्षमा हार्दिक आग्रह गर्दछु।´



