काठमाडौं, १९, भदौ । नेपालस्थित चिनियाँ राजदूतले नेपाल भारत सम्बन्धमा गैरकुटनीतिक अभिव्यक्ति दिएका छन् । नेपाल भारत सम्बन्धको ऐतिहासिक पक्षलाई नजरअन्दाज गर्दै चिनियाँ राजदूत छन् सोङले कुटनीतिक मर्यादाविपरीत अभिव्यक्ति दिएका हुन् । उनले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल भारतबीचको व्यापारसम्बन्धलाई लिएर दुई देशको सदियौं पुरानो सम्बन्धमा प्रश्न उठाएका हुन् ।

सार्वभौम मुलुक नेपालले कुन देशसँग कस्तो सम्बन्ध बनाउने त्यो आफ्नो रुची र रोजाईको विषय हो तर तेस्रो देशको राजदूूतले सार्वभौम मुलुकको निर्णयमाथि नै प्रश्न उठाउनु कुटनीतिक मर्यादाको उल्लंघन हो । यो राजदूतजस्तो जिम्मेवार प्रतिनिधिको गैरजिम्मेवारपन हो ।

नेपाल र भारतबीचको सम्बन्ध केवल व्यापारीक तहमा मात्रै होइन, दुई देशबीचको सम्बन्ध विशेष छ । अनि विशिष्ट छ । नेपाल भारत सम्बन्ध ऐतिहासिक छ । धार्मिक एवं सांस्कृतिक रुपमा दुई मुलुकबीच समानता छ ।

नेपाल र भातरबीचको खुला सिमाना दुई देशको सम्बन्धको उत्कृष्ट नमुना हो । तर यो सबै कुरालाई विर्षेर चिनियाँ राजदूतले व्यापारीक नाफाघाटाको विषयलाई उठाएर दुई देशको सम्बन्धमाथि जसरी प्रश्न उठाएका छन्, यो आपत्तिजनक छ । कुटनीतिक मर्यादा विपरीत छ ।

विभिन्न बहानामा नेपालसँग जोडिएका सीमानाकाहरु बर्षौं बन्द गरेर नेपालीलाई आवागमनमा निषेध गर्ने चीनले भारतसँगको नेपाल सम्बन्धका विषयमा प्रश्न उठाउनु आफैमा लज्जाको विषय हो । भूकम्पदेखि बन्द रहेको तातोपानी नाका आठ वर्षपछि केहि दिनअघि बल्ल सुरु भएको छ । तर कहिलेसम्म यो सुचारु हुन्छ, टुंगो छैन ।
रसुवा केरुङ नाका खुल्ने र बन्द हुने नेपाल पक्षलाई थाहै हुँदैन । चिनियाँ सनकका भरमा नाका खुल्छ अनि चिनियाँ सनकमै खुल्छ ।

चीनसँग नाकामा चिनियाँ पक्षको मनोमानीले नेपाली नागरिक र यहाँका व्यवसायीहरुले भोग्नुपरेको दुख उस्तै छ । तर भारतसँग निर्वाध भइरहेको व्यापार व्यवसायका विषयमा चिनियाँ पक्षले टाउको दुखाउनु हाँस्यास्पद कुरा हो ।

नेपाल भारतका नागरिकले दुई देशमा बिना रोकतोक आवागमन गर्न पाउनुले दुई देशको सम्बन्धको उचाईलाई प्रष्ट पार्छ । दुई देशका नागरिकको तहमा स्थापित सम्बन्धलाई व्यापार व्यवसायको नाफाघाटाको तराजुमा जोख्नु मुर्खता हो । नागरिक तहमै जोडिएको सम्बन्धले दुई देशलाई निकट मात्रै राखेको छैन, बाँकी विश्वमञ्चमा विशिष्ट स्थान दिएको छ । जुन कुरा चीनले सिक्नुपर्छ ।

सीमाना जोडिँदैमा मात्रै छिमेकी भइदैन, छिमेकीमा निकटता र सहअस्तित्वको भावना हुन जरुरी छ । नेपाल भारत सम्बन्धका विषयमा प्रश्न गर्नुअघि चीनले नेपाल र भारतबीचको सम्बन्धलाई अध्ययन गर्न र बुझ्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको