
काठमाडौं : लगातार एमाले अवराेधका कारण अवरुद्ध हुँदै आएकाे संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आजका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले पटकपटक अवरोधपछि स्थगित संसद् बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो ।
एमालेले अवरोध नगरे प्रतिनिधिसभामा राष्ट्रपति कार्यालयबाट प्राप्त विभिन्न पत्रहरू जानकारी गराउने सम्भावित कार्यसूची छ । साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनेसहितको कार्यसूची छ ।
त्यस्तै, प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी पनि गराउने छन् ।नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी थुनामा छन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यअवधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ कोदफा ४२ कोउपदफा (२) बमोजिम सदन समक्ष पेस गर्ने कार्यक्रम छ ।