काठमाडौं: अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल विकासक्रममै रहेकाले देशमा धेरै कुरा गर्न बाँकी रहेको बताएका छन् । काठमाडौंमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री  महतले देश विकासक्रममै रहेकाले अवसर छैन भनेर आत्तीहाल्नुपर्ने अवस्था नहरेको बताए

मन्त्री महतले विदेश जानेवित्तिकै सबै कुरा प्राप्त हुन्छ भन्ने मानसिकताबाट नेपाली युवाहरु मुक्त हुनुपर्ने बताए। उनले भने, ‘यहाँ अवसर अथाहा छ। त्यसको उपयोग गर्नुपर्छ। त्यसको खोजीमा आजका हाम्रा युवा लाग्नुपर्छ।’

उनले यहाँ भएका धेरै अवसरहरूको सदुपयोग गर्न युवालाई आग्रह गरे। ‘देशबाहिर सुनको श्रीलंका छैन। विदेश जाने तयारीमा रहनु भएका युवाहरु जसले पूर्ण छात्रवृत्ति पाउनु भएको छैन। उहाँहरु अप्ठ्यारोमा पर्नुभएको छ । पढाइ पूरा नहुने परिस्थिति, आर्थिक श्रोत जुटाउन नसकिने परिस्थिति र लिगल स्टाटस मेन्टेनको परिस्थितिमा उहाँहरु गुज्रिनु भएको छ । त्यहाँबाट ननिस्कन सकिन्छ, न छोड्न सकिन्छ । यो प्रतिशत धेरै ठूलो छ, ’मन्त्री महतले भने, ‘त्यसैले यहाँ भएका धेरै अवसरहरुको सदुपयोग गरौं ।’

अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्र लयमा फर्किएको र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकारात्मक सोच राख्नुपर्ने बताए। उनले विदेशमा आर्जित पुँजी र सीप नेपालमा प्रयोग गर्न जोड दिए। अहिले पर्यटन क्षेत्र सुधार हुँदै गएको र सूचना प्रविधिका क्षेत्रमा पनि नेपालको राम्रो सम्भावना देखिन थालेको उनको भनाइ छ।

चालु आर्थिक वर्षको बजेटबाट सरकारले सूचना प्रविधि क्षेत्रको सेवा निर्यातका लागि सहजीकरण गरेको उनल बताए । अहिले प्रविधिको प्रयोगले बजारीकरण गर्न सजिलो भएको उनको भनाइ छ । मन्त्री महतले उद्यमशीलता विकासका लागि व्यक्तिको क्षमता विकास महत्वपूर्ण हुने बताए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको