नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेका छन् । आइतबार पार्टी मुख्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै ओलीले प्रचण्डले तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन् ।
अब राजीनामा माग्ने भन्दा पनि प्रचण्ड स्वयंमले कुर्सी छोड्नु उपयुक्त हुने ओलीको तर्क थियो । तर यो भन्दैगर्दा ओलीले एमाले सरकारको मुख ताकेर भने नबसेको प्रतिक्रिया दिए । सरकार अयोग्य र भ्रष्टाचारको चाङमा उभिएको भन्दै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई पदबाट राजीनामा दिन सुझाव दिएका थिए । यस्तै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा नगरेर पदमा बसिरहेको देख्दा आफू आश्चर्यमा परेको भन्दै उनले कटाक्ष गरेका थिए ।
‘जिम्मेवार भएर पनि गृहमन्त्री श्रेष्ठले राजीनामा नदिएर हिँड्न अप्ठेरो लाग्नुपर्ने होइन ?,’ ओलीले भनेका थिए, ‘प्रधानमन्त्री पनि यति अयोग्य, यति नालायक, यति भ्रष्ट सरकारको, यस्तो भ्रष्टताको चाङमाथि उभिएर म नेतृत्व गर्छु भन्न अप्ठेरो हुनुपर्ने हो । उहाँले आफैँ राजीनामा गर्नुपर्ने हो । गृहमन्त्री र अर्थमन्त्रीले त राजीनामा नगरेर कसरी बस्न सकेको ? आठौं र नवौं आश्चर्य भन्नुपर्छ यसलाई । यो ठूलो आश्चर्यको विषय हो ।’
देश अहिले डरलाग्दो अवस्थामा पुगेको भन्दै उनले सबै गम्भीर भएर अघि बढ्नुपर्ने उनले बताए ।