काठमाडौं : नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सांसद शर्मालाई सीआइबीले पक्राउ गरेको पुष्टि गरे । उसो त बहालवाला सांसदलाई पक्राउ गर्न संसद सचिवालयबाट अनुमति लिनुपर्ने हुन्छ । तर, सभामुखको सचिवालयले भने सो बारे जानकारी नभएको प्रतिक्रिया दिएको छ ।
शिवाकोटीले शर्मा पक्राउ पुष्टि गर्दै फेसबुकमा लेखेका छन्, ‘ केहि दिनदेखी सुन तस्करीको बिषयमा बोल्दै आएका सांसद सुनिल शर्मालाई सीआइबी लगाएर नै पक्राउ गराएर सरकारले के गर्न खोजेको हो ? संसद चलिरहेको बेला बहालवाला सांसदलाई पक्राउ गर्न के सभामुखले स्विकृती दिएका हुन् ? कि सुन तस्करीको विषयमा उठान भइरहेको आवाज रोक्ने प्रयासमा सबै तप्का एकजुट भएका हुन् ?’
तर, प्रहरी स्रोतले भने नक्कली सर्टिफिकेट प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरेको बताएको छ । प्रहरी स्रोतले भन्याे‘‘सांसद शर्मालाई नक्कली सर्टिफिकेट प्रकरणमा अनुसन्धान गर्न पक्राउ गरिएको हो । अरु पनि यही केसमा पक्राउ पर्दैछन्, केहीबेर पर्खिनुस् ।’
सांसद पक्राउ पर्दा सभाुमखलाई छैन जानकारी
सांसद शर्मा पक्राउ बारे संसद सचिवालयलाई जानकारी छैन ।
नेपालको संविधान
धारा १०३. विशेषाधिकारः
(६) संघीय संसदको कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन । तर कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानून बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ ।