काठमाडौं : नेपाली कांग्रेसकका सभापति शेरबहादुर देउवाले विराेध मात्रै गरेर कांग्रेस बलियाे नहुने बताएका छन् । हालसम्म निर्वाचन वर्ष रहेको र अबको वर्ष कांग्रेस पार्टीको सङ्गठन निर्माण र सुदृढीकरणको वर्ष हुने बताएका छन् ।
शनिबार नेपाली कांग्रेसको प्रथम ललितपुर जिल्ला सम्मेलनमा सभापति देउवाले कसैले कसैलाई गाली गर्नुभन्दा जनतासँग काँधमा काँध मिलाएर पार्टी विस्तारमा सबै एक जुट भई अगाडि बढ्नुपर्ने बताए ।
`नेविसंघले सबै क्याम्पसमा जितेकाे छ । सानाे पार्टी ठुलाे भएकाे छ,´ देउवाले भने,`अब म हुने हाेइन । हुने तपाईहरू हाे,काम गर्नुस् गाली गरेर केही हुनेवाला छैन ।´ शुक्रबार महामन्त्री गगन थापाले काठमाडौंमा आयाेजित एक कार्यक्रममा सभापित देउवा लक्षित भाषण गरेका थिए । साे क्रममा उनले देउवाकाे विराेध गरेपछि शनिबार देउवाले थापाकाे नाम नलिइकन जवाफ फर्काएका हुन् ।
सभापति देउवाले अब आफू पार्टीको सभापति नहुने स्पष्ट गर्दै पार्टीलाई मात्र सहयोग गर्ने बताए । ‘अब कांग्रेसको नेतृत्व युवाले गर्नुपर्छ, सबैलाई एक ढिक्का बनाएर अगाडि बढ्न म आग्रह गर्छु’, उनले भने ।