काठमाडौं क्षेत्र नम्बर ५ मा सार्वजनिक जग्गा संरक्षण अभियान सुरु भएको छ। १६ औँ गणतन्त्र दिवसको अवसर पारेर प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलको अगुवाईमा उक्त अभियान सुरु भएको हो।गणतन्त्र दिवसको अवसर पारेर काठमाडौं–५ का सार्वजनिक जग्गा संरक्षणका लागि वृक्षरोपण अभियान सुरु गरिएको पौडेलले बताए।

अभियानको सुरुवातमा सोमबार भत्केको पुल साविक धोबीखोला आसपासको सार्वजनिक जग्गामा वृक्षरोपण गरिएको छ। सरकारले भने ५.११ रोपनी क्षेत्रफल रहेको उक्त सार्वजनिक जग्गा निर्मल लामा स्मृति प्रतिष्ठानलाई ४० वर्षका लागि लिजमा दिने निर्णय गरिसकेको छ। तर, स्थानीयले उक्त निर्णयको विरोध गरिरहेका छन्।
वृक्षरोपणका क्रममा सांसद पौडेलले काठमाडौंमा बढ्दो जनसांख्यिक चापलाई बुझेर सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने अनिवार्य अवस्थाको खिलाफ कुनै व्यक्ति वा संस्थालाई व्यापारिक स्वार्थका लागि लिजमा दिने विषय अत्यन्तै आपत्तिजनक भएको बताए।
‘खुला ठाउँमा पूर्वाधार बनाउने, व्यापारिक प्रयोजनका लागि प्रयोग गर्ने सरकारको निर्णय स्वीकार्य हुन सक्दैन,’ उनले भने, ‘सार्वजनिक जग्गामा निजी प्रयोगमा ल्याउनु हुँदैन।’
पौडेलले निर्मल लामा प्रति आफूहरुको सद्भाव रहेको जिकिर गर्दै उक्त सार्वजनिक जग्गामा सरकारले बनाउने पार्कको नाम निर्मल पार्क राख्दा हुने पनि बताए। ‘सरकारले लिजमा दिने निर्णय तत्काल फिर्ता लिनुपर्छ,’ उनले भने, ‘त्यसको सट्टा यहाँ पार्क बनाओस्। निर्मल लामा प्रति हाम्रो सधैँ सद्भाव छ। बरु पार्कको नाम निर्मल पार्क राख्दा हुन्छ।’
लामो समयदेखि व्यक्तिले अतिक्रमण गर्न खोजेको प्रयासलाई स्थानीयवासीले संघर्ष समिति बनाएर सार्वजनिक गुठीअन्तर्गत ल्याएको, २०७६ माघमा अदालतले समेत मुद्दा छिनोफानो गरेको र स्थानीयस्तरबाट नै सार्वजनिक खेलकुद पार्क बनाउन पहल भइरहेको जग्गालाई लिजको प्रकियासमेत पूरा नगरी मिलेमतोमा प्रतिष्ठानलाई दिने निर्णय गरिएको भन्दै स्थानीय जनप्रतिनिधि र स्थानीयवासी विरोध गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको