
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको बयान सकिएको छ । बयानका क्रममा यो प्रकरणमा केही ट्विस्ट देखिएको छ । अडियो टेपका आधारमा हाइप्रोफाइल समेत प्रहरी अनुसन्धान तानिएको यो प्रकरणमा अहिले केहीले अडियोमा भएका कुरा भन्दा भिन्न बयान दिएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त सन्देश शर्मा र केशव दुलालले पूर्वगृहमन्त्री बालृकष्ण खाँण र कांग्रेस सांसद आरजु राणा देउवा र मञ्जु खाँणले पैसा लिएको कुरा वास्तविक नभएको बयान दिएको पाइएको छ । उसो त यसअघि नै देउवाले आफ्नो नाम जोडेर आएको अडियोमाथि अनुसन्धान गर्न प्रहरीमा उजुरी दिएकी थिइन् । तर, सो उजुरीमाथि छानविन अघि बढ्न नसकेको भन्दै देउवाले संसदमै असन्तुष्टि व्यक्त गरेकी थिइन् ।
जसले पोले, अहिले भने -बालकृष्ण, आरजु र मञ्जु चिन्दिन
सन्देश शर्माले भनेका छन्, ‘‘तपाईंले हामीले भनेको मानिसलाई रकम बुझाएका छौँ भनि जानकारी गराइदिनु भयो भने हामी बाँच्छौँ भनि पहिले नै निजहरूको नाम लिई पैसा दिएको हो भनि भन्नु भनेको हुँदा निजहरूले भनेअनुसार आरजु देउवा तथा बालकृष्ण खाण र मञ्जुखाणको समेत नाम लिई मैले रकम बुझाएको भनि कुरा गरेको हो। उक्त कुरा वास्तविक होइन। जाहेरवालाहरूले भन्नु भनेअनुसारमात्र भनेको हुँ। मैले निजहरूलाई चिनेको छैन, चिन्दै नचिनेको व्यक्तिलाई यति धेरै रकम नगदैबिना काम दिने कुरै भएन।’
सन्देश शर्माको बयानमा के छ ?
दुलालको बयान : ओलीका स्वकीयलाई १ करोड दिएँ
बयानमा केशव दुलालले केपी ओलकिा स्वकीय सचिव राजेश बज्राचार्यलाई १ करोड दिएको बयान दिएका छन् । उनले भनेका छन्, ‘‘तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वाटर बालुवाटारमा ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीमार्फत मलाई बोलाई २०७६ साल असोजमा १ करोड नगदै बुझी लिएको ।’
दुलालले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलको मन्त्री क्वाटर पुल्चोकमै पुगेर ३ करोड रुपैयाँ दिएको, बादलका छोरालाई २०७६ मा १ करोड रुपैयाँ दिएको, तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई इन्द्रजित राईमार्फत गृह मन्त्रालयका सचिवको कार्यकक्षमा २०७६ असारमा ३ करोड रुपैयाँ दिएको बयान दिएका छन् ।