काठमाडौं : नेपाल विद्यार्थी संघकाे केन्द्रीय समितिलाई पूर्णता दिने कार्य शेखर काेइरालाका कारण राेकिएकाे छ । दुईसाता अघिनै संघलाई पूर्णता दिने तयारी अन्तिम चरणमा पुगेपनि शेखरले नाम नपठाएपछि अहिलेसम्म केन्द्रीय समितिले पूर्णता पाउन सकेकाे छैन । संघका अध्यक्ष दुजाङ शेर्पाले कांग्रेसभित्रका सबै गुटका नेताहरूलाई भेटी संघलाई पूर्णता दिन सहयाेग गर्न आग्रह गरेका थिए ।
अध्यक्ष शेर्पाकाे आग्रहपछि केन्द्रीय समितिक लागि नाम पठाउन सबै नेता सहमत भएका थिए । महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्रीहरू कृष्ण सिटाैला, विमलेन्द्र निधि, विजय गच्छेदार, प्रकाशमान सिंह र शशांक काेइरालासमूले नाम पठाइसकेकाे अध्यक्ष शेर्पाकाे सचिवालयका एक सदस्यले बताए । तर, दुई दिनभित्र नाम पठाउँछु भनेका शेखरले दुई हप्ता वितिसक्दा पनि नाम नपठाएपछि नेविसंघलाई पूर्णता दिने काम राेकिएकाे उनले बताए ।
पछिल्लो समय युवा विद्यार्थीहरू वैकल्पिक राजनीतितिर आकर्षित हुन थालेकाले संघलाई पूर्णता दिएर संगठनलाई चलायमान बनाउनुपर्ने पक्षमा अध्यक्ष शेर्पाले नेताहरूलाई पटक पटक भेटेरै आग्रह गरेका छन् । विगत १४ महिनादेखि एक्लै संगठन हाँकिरहेका शेर्पा स्ववियु निर्वाचनमा नेविसंघलाई पहिलाे बनाउन सफल भएका छन् । शेर्पाले स्ववियु निर्वाचन अघि नै समितिलाई पूर्णता दिन प्रयास गरेका थिए । पटक पटक उनले गरेकाे प्रयासमा पार्टीकै नेता बाधक बन्दै आएका छन् ।
चैत ९ गते अध्यक्ष नियुक्त शेर्पा स्वयं संघलाई पूर्णता दिन अब पनि अलमल गरे राजीनामा दिने मुडमा रहेका निकटस्थ बताउँछन् ।
शेखर गुुटभित्रै लडाई
कांग्रेसकाे १४ओै महाधिवेशनमा सभापतिमा शेखर र महामन्त्रीमा गगन थापाकाे टिम बनेकाे थियाे । तर, अहिले साे टिमभित्रै समस्या देखिएकाे छ । शेखरले मन्त्री बनाउँदा सुटुक्क धनराज गुरूङ र डिगबहादुर लिम्बुकाे नाम सभापति शेेेरबहादुर देउवालाई बुझाएपछि गगन थापा समूह उनीसँग असन्तुष्ट छ । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा प्रदीप पाैडेललाई मन्त्री बनाउने पक्षमा रहेपनि शेखर पक्षमा देखिएनन् । मन्त्री बनाउने बेलामा शेखर र थापाबिच चिसिएकाे सम्बन्धका कारण अहिले थापासँग नाम मागिएपछि शेखर रुष्ट थिए । आफ्नाे समूहकाे नाम आफूले मात्रै पठाउनुपर्ने उनकाे भनाई थियाे । तर, महामन्त्री थापाले आफ्नाे समूहबाट अलग नाम दिएपछि शेखरले नाम पठाएनन् ।