कास्की, ५ फागुन
उप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारको मुख्य ध्यान समृद्धिको लक्ष्य कसरी पूरा गर्ने भन्नेमा केन्द्रित रहेको बताउनुभएको छ ।

सडक डिभिजन कार्यालय पोखरामा आज मातहतका कार्यालयका प्रमुख एवं कर्मचारीलाई निर्देशन दिँदै उहाँले समृद्धिको प्रक्रियालाई तीव्रताका साथ अघि बढाउँदा मात्र जनताको अपेक्षा र आवश्यकता पूरा हुने उल्लेख गर्नुभयो ।

उहाँले देशमा समृद्धि हासिल गर्नका लागि भौतिक पूर्वाधार मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी रहेकोसमेत बताउनुभयो । मन्त्री श्रेष्ठले भन्नुभयो, “हाम्रो मन्त्रालयमा सरकारको पुँजीगत बजेटको एकतिहाइ बजेट छुट्याइएको छ । समृद्धिको लक्ष्य हासिल गर्नमा हाम्रो मन्त्रालयको ठूलो जिम्मेवारी छ, त्यो जिम्मेवारी पूरा गर्न जिम्मेवारीवोध गर्नु आवश्यक छ । आयोजनाको कार्यान्वयन प्रक्रियालाई तीव्रताका साथ प्रभावकारीरूपमा अघि बढाउनु आवश्यक छ ।”

सबैलाई न्याय र परिणाममा आफू केन्द्रित भएको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले काम गराउनका लागि भनसुन गराउनुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो । “पोलिटिकल दबाब र अवाञ्छित प्रभावले कसैको पोष्टिङ र सरुवा हुँदैन । कसैको भनसुन गराउनुपर्ने अवस्थाको अन्त्य हुन्छ । बरु भनसुन गराउन थाल्नुभयो भने काम बिग्रियो भन्ने बुझे हुन्छ”, उहाँले भन्नुभयो ।

मन्त्री श्रेष्ठले कतिपय विकास आयोजनाको काम सम्झौता भएको १० वर्षसम्म पूरा नभएको आफूले देखेको बताउँदै निर्माण व्यवसायीले काम गरेनन् भनेर मात्र नबस्न र किन काम हुन सकेन भनेर अनुगमन गर्नसमेत कर्मचारीलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको