काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ, अमेरिकाको दोस्रो बार्षिक अधिवेशन यही मार्च २९, २०२६ का दिन पेन्सिलभेनिया राज्यको ल्यान्कास्टरमा हुने भएको छ। संघका अध्यक्ष हरि उप्रेतीका अनुसार, संघको आयोजनामा सम्पन्न हुने उक्त अधिवेशन समारोहको संयोजन तथा व्यवस्थापन स्थानीय नेपाली साहित्यिक संस्था ‘साहित्य कला संगम’ ले गर्ने तयारी गरिएको छ ।

अधिवेशनमा संघको बार्षिक गतिबिधि र आर्थिक गतिबिधि माथि छलफल गरिनुका साथै भावी कार्यायोजना प्रस्तुत गरिनेछ । स्थानीय कार्यक्रम संयोजक ‘साहित्य कला संगम’ द्वारा तयार पारिएको विभिन्न साहित्यिक एवं सांस्कृतिक कार्यक्रम सहित संस्थाको बारेमा अन्तरक्रिया गरिने कार्यक्रम पनि रहनेछ।
संघले यसको प्रथम अधिवेशनदेखि नै गीत रचनामा उत्कृष्ठ योगदान पुर्‍याउने एकजना विशिष्ट गीतकारलाई १०००.०० अमेरिकी डलर नगद पुरस्कार सहित “-ज्ञानेन्द्र गदाल गीत सम्मान” द्वारा सम्मानित गर्दै आएको छ।

यस वर्षदेखि उक्त सम्मान लगायत नेपाल र नेपाली डायस्पोराका गीत, संगीत र गायन विधाका ६ जना उत्कृष्ठ श्रष्टालाई समेत पुरस्कार तथा सम्मान प्रदान गरिने भएको छ । संघद्वारा हरेक वर्ष अर्पण गरिने “ज्ञानेन्द्र गदाल गीत सम्मान-२०२४” पहिलो पटक गत वर्ष विशिष्ट गीतकार नीर शाह लाई अर्पण गरिएको थियो।

संघ प्रवासमा रहेर नेपाली गीत लेखनमा सक्रिय रहने गीतकारहरूको एकमात्र अन्तर्राष्ट्रिय गैर नाफामूलक संस्था हो। यसले सम्पूर्ण गीतकारहरूको लेखकीय हकहितको संरक्षण गर्नुका साथै सर्जक र सिर्जनाको उचित मूल्याङ्कन एवं कदर गर्ने काम गर्दछ। नेपाली गीत र गीतकारको उन्नयन र विकास नै यस संघको मूल लक्ष्य रहेको छ जानकारी अध्यक्ष हरि उप्रेतीले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको